१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


उखु बिक्री गरेको लामो समयसम्म पनि भुक्तानी नदिएको गुनासो


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, असोज १८ । चाडपर्वको समयमासमेत उखु किसानले पैसा नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् ।

अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले उखु बिक्री गरेको लामो समयसम्म पनि भुक्तानी नदिएको गुनासो उखु कृषकको छ ।

इन्दुशंकर चिनी उद्योगमा भुक्तानीको समस्या नभएपनि अन्नपूर्ण र महालक्ष्मीमा धेरै समस्या रहेको किसानले गुनासो गरेका छन् ।

अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन आर्थिक वर्षदेखि भुक्तानी दिएको छैन ।

किसानले आन्दोलन गर्दा पटक–पटक भुक्तानीको मिति दिने उद्योगले सहमति कार्यान्वयन नगर्दा किसान निराश भएका हुन् ।

स्थानीय प्रशासनले चिनी उद्योगबाट किसानलाई भुक्तानी दिलाउन निरन्तर समन्वय गरिरहेको दाबी गरेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बढी समस्या देखिएको अन्नपूर्ण चिनी उद्योगले पछिल्लो समय किसानलाई रकम प्रदान गरेको विवरण पठाइरहेको बताए ।

उनले पछिल्लोपटक अन्नपूर्णले किसानलाई २० करोड रुपैयाँ बढी भुक्तानी दिएको विवरण पठाएको जानकारी दिए ।

सर्लाहीका किसानले सरकारले उपलब्ध गराउनुपर्ने अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को अनुदान रकमसमेत नपाएको बताएका छन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले सरकार र चिनी उद्योगी दुवैबाट उखु कृषक ठगिएको बताए । उनले सरकारी अनुदान नपाउँदा किसान थप पीडित भएको बताए ।