सिँगारिँदै काठमाडौंका सडक • Image Khabar Image Khabar


सिँगारिँदै काठमाडौंका सडक


Imagekhabar
१८ आश्विन २०७६, शनिबार १६:०६

सिँगारिँदै काठमाडौंका सडक

काठमाडौं, असोज १८ । काठमाडौंका सडकहरु फेरि सिँगारिन थालिएको छ ।

काठमाडौंका विभिन्न ठाउँहरुमा सडकका खाल्डाखुल्डी पुरिएका छन् भने सडक किनारामा रङ लगाइ चिटिक्क बनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पक्का भएपछि काठमाडौंका सडकहरु सिँगारिन थालिएका हुन् ।

नेपालमा हरेक समयमा विशिष्ट अतिथि नेपाल आउँदा यहाँका नागरिकले सफा र चिल्लो सडकमा हिँड्ने मौका पाउँछन् ।

सीको नेपाल भ्रमण पक्का भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सिँगारिएको छ ।

यस्तै, माइतीघर मन्डलालाई पनि चम्काउने काममा मान्छे लगाइएको छ । उनीहरुलाई केही दिनमा नै सो क्षेत्र चम्काउने जिम्मेवारी दिइएको छ ।

दसैंअघि नै काम सक्नुपर्ने र दसैं मनाउनुपर्ने चुनौती रहेको उनीहरु बताउँछन् ।

२०७५ साल जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा काठमाडौंका सडकहरु रातारात कालोपत्र गरिएको थियो । सडक किनारा चम्काइएको थियो र सडक चिल्लो बनाइएको थियो । अहिले पनि यी सडकहरु उस्तै गरी चम्काइएको छ ।

सरकारले विशिष्ट पाहुना आउँदा बाटोमा मात्रै लाखौं रकम खर्चने गरेको छ । तर, नेपाली जनताको सास्ती भने जहाँको तहीँ छ ।

चाबहिल–साँखु सडकखन्ड नबनेको वर्षाैं भयो । तर, सो स्थानमा अहिलेसम्म पनि स्थानीयले उस्तै सास्ती भोगिरहेका छन् ।

तर, सरकार विदेशी पाहुनालाई देखाउनका लागि बाटो सफा गर्ने र सडक व्यवस्थापनको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्