२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


दरबार हाइस्कुल पुनःनिर्माणको प्रक्रिया अघि बढ्यो (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/नवीन स्थापित (इमेज)

काठमाडौं, साउन ९ । विनाशकारी भूकम्प गएको तीन वर्षपछि बल्ल दरबार हाइस्कुल पुनःनिर्माणको प्रक्रिया अघि बढेको छ ।

चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने दरबार हाइस्कुल २० महिनामा नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

रानीपोखरीको पश्चिमपट्टि रहेको दरबार हाइस्कुल अहिले ‘ग्राउन्ड जिरो’ अवस्थामा छ ।

२०७२ साल वैशाख १२ को महाभूकम्पबाट नराम्रोसँग क्षतिग्रस्त बनेको १६५ वर्ष पुरानो दरबार हाइस्कुलको पुनःनिर्माणका लागि पुरानो भवन भत्काएर पूरै खाली गरिएको हो ।

चीन सरकारको सहयोगमा यो स्कुलको पुनःनिर्माण गर्न लागिएको हो भने अहिले चक्रपथ विस्तारको काम गरिरहेको सांघाई कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिइएको छ ।

सो कम्पनीले २० महिनाभित्र पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

नेपाल सरकार, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा उक्त कम्पनीले पुनःनिर्माणको जिम्मा लिएको पुनःनिर्माण प्राधिकरणका आयोजना निर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए ।

चिनियाँ कम्पनीले निर्माणका लागि प्राविधिक र अधिकांश कामदार पनि चिनियाँ नै प्रयोग गर्नेछ ।

९ रोपनी ३ आना जग्गामा बन्ने भवनको स्वरुप मूलतः पुरानै रहनेछ । यद्यपि, नयाँ भवनको आन्तरिक प्रारुप भने केही फरक हुने जनाइएको छ ।

नयाँ भवनको नक्सा काठमाडौं महानगरपालिकाबाट पास भइसकेको प्राधिकरणको भनाइ छ ।

निर्माणमा बालुवा र गिट्टीबाहेक अन्य ९६५ प्रकारका सामग्री प्रयोग गरिने र ती सामग्री चीनबाटै आयात गरिनेछ ।

विद्यालय भवन निर्माणका लागि ८० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विद्यालय पुनःनिर्माणका लागि भवन भत्काइने भएपछि त्यहाँ अध्ययनरत् विद्यार्थीहरुलाई प्रदर्शनीमार्गमा रहेको वाल्मीकि क्याम्पसको हातामा सारिएको छ । सो स्थानमा १८० जना विद्यार्थीहरुका लागि चिनियाँ सहयोगमै ‘प्रिफ्याब’ भवन बनाइएको छ ।

दरबार हाइस्कुलको पुनःनिर्माण सम्पन्न भएपछि उक्त भवन संस्कृत माविले पनि प्रयोग गर्ने बताइएको छ ।

भिडियो हेर्नुहोस्