दसैंमा इन्धनको अभाव हुँदैन : निगम • Image Khabar Image Khabar


दसैंमा इन्धनको अभाव हुँदैन : निगम


Imagekhabar
१७ आश्विन २०७६, शुक्रबार १८:४८

दसैंमा इन्धनको अभाव हुँदैन : निगम

काठमाडौं, असोज १७ । नेपाल आयल निगमले दसैंका अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने स्पस्ट पारेको छ ।

पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सबै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ ।

फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारी–साधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले शुक्रबार उपत्यकामा झन्डै २० लाख लिटर पेट्रोलियम पदार्थ वितरण गरेको छ ।

थानकोट डिपोबाट शुक्रबार ११ लाख ५० हजार लिटर पेट्रोल र ८ लाख ५० हजार लिटर डिजेल विभिन्न पेट्रोलपम्पलाई पठाइएको डिपोका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।

फूलपातीका दिन निगमका सबै डिपो नियमितझैं खुला रहनेछन् ।

‘निगमसँग पर्याप्त मात्रामा इन्धनको मौज्दात रहेको छ । आयात नियमित रहेको छ’–उनले भने–‘पेट्रोलपम्पले मागेजति नै इन्धन उपलब्ध गराएका छौं । इन्धनको कुनै अभाव हुँदैन ।’

दसैंलाई लक्षित गर्दै विगत तीन/चार दिनदेखि उपत्यकामा औसत दैनिक ८ लाख लिटर पेट्रोल र डिजेल बिक्री गरिएको निगमले जनाएको छ ।

निगमले पर्याप्त मात्रामा इन्धन भन्डारण गर्न सबै पेट्रोलपम्पलाई आग्रह गरेको छ ।

उपत्यकाका सबै पेट्रोलपम्पबाट सहजरुपमा इन्धन बिक्री भइरहेको छ । उपत्यकाबाट बाहिरिने सवारी–साधनका कारण इन्धन भर्नेको केही चाप देखिएपनि कुनैपनि पेट्रोलपम्पमा लाइन बस्नुपर्ने अवस्था छैन ।

सरकारी बिदामा पनि डिपो खुल्ने

दसैंको बिदामा पनि इन्धनको अभाव हुन नदिन निगमले सार्वजनिक बिदा भएपनि डिपो आंशिक खुला राख्ने भएको छ ।

कुनैपनि पेट्रोलपम्पबाट इन्धनको माग आए तत्कालै ‘लोड’ गर्नेगरी कर्मचारीको व्यवस्था गरिएको छ ।

थानकोट डिपोमा मात्र प्राविधिकसहित १५ कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । उनीहरुले जुनसुकै बेला पेट्रोलपम्पबाट इन्धनको माग आएमा ‘लोड’ गर्ने प्रमुख उपाध्यायले जानकारी दिए ।

निगमको थानकोटस्थित डिपोले काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र रामेछापका केही क्षेत्रका पेट्रोलपम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी ५ नम्बर प्रादेशिक कार्यालय भैरहवामा पनि सार्वजनिक बिदाको दिन भैपरी कामका लागि अत्यावश्यक कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।

प्रादेशिक कार्यालयबाट बिक्री–वितरण गरिने पेट्रोलियम पदार्थ सहजरुपमा उपलब्ध गराउन १० जना कर्मचारीलाई तम्तयारी अवस्थामा खटाइएको निगमले जनाएको छ ।

यसैगरी १ नम्बर प्रादेशिक कार्यालय विराटनगरले पनि दसैंका बेला इन्धनको अभाव नहोस् भनेर पाँचजना कर्मचारीलाई ‘डियुटी’मा खटाएको छ ।

उनीहरुले निगमको आपूर्ति तथा वितरण विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा इन्धन ‘लोड’ गर्ने प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहले जानकारी दिए ।

सो डिपोमा ९० प्रतिशत इन्धन मौज्दात रहेको छ । विक्रेताले माग गरेबमोजिम इन्धन उपलब्ध गराइएको उनले बताए ।

पेट्रोलियम पदार्थको मूल्य यथावत्

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपनि निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत् राखेको छ ।

भारतीय आयल कर्पोरेसनले निगमलाई अगस्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ६ पैसा, डिजेलमा तीन रुपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १५ रुपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल÷मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३५० रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्