बलिया अक्षरहरू... • Image Khabar Image Khabar


बलिया अक्षरहरू…


कृष्णा खनाल (मस्तानी)
२८ चैत्र २०७७, शनिबार १३:५७

बलिया अक्षरहरू...

कृष्णा खनाल (मस्तानी)
रातको १० बजेको छ, लगभग तीन घण्टाको संघारमा छु बसाइको, सुरुवात देखि को बसाइ एउटै छ ,सोचाइ एउटै छ चलमल छैन ढलपल छैन ।टोलाइरहेकै छु, एकोहोरो घोरिरहेकै छु। कुर्सीमा बसेर पट्यार लाग्नुपर्ने, तर तेस्तो महसुस भएको छैन, हातमा कलम नचाइरहेको छु, कहिले मुख तिर कहिले टाउकोतिर कहिले कतातिर त कहिले कतातिर ।

अगाडि सेता सफा र खाली पानाहरू छरिएका छन् । म, मेरो मस्तिष्क, कलम, सेता सफा र खाली पानाबीच भयङ्कर दूरी छ । म यी सबैलाई एकाग्र गर्दै शब्दहरूको समाधिमा डुब्न खोज्दैछु, बग्न खोज्दैछु ,हो म केही लेख्न खोज्दैछु । अगाडि छरिएका सेता सफा र खाली पाना जस्तै शून्य छ दिमाग, तर म दृढ अठोट लिएर लेख्न बसेको छु । तर के ? म के लेख्न खोज्दैछु ? कविता ? कथा ? उपन्यास ? गीत ? लेख ? या अरु केही ? म के लेख्न खोज्दैछु ? के विषयमा लेख्न खोज्दैछु ? दिमागमा प्रश्नहरुको थुप्रिरहेछन् ,म शब्दहरूको बाढी ल्याउन खोज्दैछु । तर, शब्दहरू थोपा–थोपामा पनि वर्षेका छैनन्।

हैन आखिर किन म यस्तो कोसिस गर्दैछु, जबकी मसँग कुनै यस्तो विषयवस्तु, पात्र, घटना, दृश्य केही त छैन । तर पनि किन म यहाँ खाली सेता र सफा पाना अगाडि कलम लिएर उभिइरहेछु ? किन ? फेरि दिमागमा आउँदैछ, लेख्ने ? के लेख्ने ? किन लेख्ने ? मैले किन लेख्नुपर्यो ? न म कुनै साहित्यकार, न नाटककार, न गीतकार, न कथाकार, न पत्रकार । म कस्तो प्रेरणाले तम्सिरहेको छु ? एकछिनको प्रश्नहरूको द्वन्द्वपछि म याद गर्न खोज्छु, सम्झिन खोज्छु म यो टेबल अगाडि कसरी आए, मैले कतिबेला कलम समाएँ, मैले सेता, सफा र खाली पाना कसरी फिजाएँ । तर, अहँ याद छैन केही ।

म एकछिनमा फेरि ती सेता सफा र खाली पानालाई हेर्छु, हराएजस्तो हुन्छु, ओहो कस्तो अचम्म । ती सेता सफा र खाली पानामा अक्षरहरू हिडिरहेका छन्े बिस्तारै क्रमश क, ख, ग, घ…ज्ञ, अ ,आ, इ, ई…अं । म खुसी हुन्छु आहा अक्षरहरू आए अब म लेख्न सक्छु । अब अक्षरहरू नाच्न थाले सेता, सफा र खाली पानाको तलदेखि माथि दायाँ देखि बायाँसम्म दौडिन थाले ।

अब यिनीहरू भाग्नुभन्दा अगाडि मैले पक्डिनुपर्छ, आपसमा मिलाउनु पर्छ, भेटाउनुपर्छ र शब्द निर्माण गर्नुपर्छ, शब्दहरूलाई वाक्यमा, अनि हरफ–हरफमा मिलाउनुपर्छ र म लेख्न सफल हुनेछु । म सोचिरहेछु तर क, ख ,ग ,घ….ज्ञ हरू नाचिरहेकै छन्, झन्–झन् जोड–जोडसँग उफ्रिरहेका छन् ।

म क, ख, ग, घ..ज्ञ हरूलाई आपसमा जोड्न खोज्छु, भेटाउन खोज्छु, शब्द बनाउन खोज्छु, तर अचम्म यिनीहरू मेरो पकडमा आइरहेका छैनन् यिनीहररू मिल्नै खोजिरहेका छैनन्, आपसमा भेटिनै खोजिरहेमा छैनन् । आखिर किन ? तर म जबर्जस्त प्रयास गर्छु अहँ यिनीहरू आपसमा नजिक नै आइरहेका छैनन् ।

किन यिनीहरू आपसमा समाहित हुन खोज्दैनन्, किन अटेरी गरिरहेछन ?, म आश्चर्यमा परिरहेछु म फेरि एकछिन घोरिन पुग्छु ।क, ख, ग, घ…ज्ञ हरू सेता, सफा र खाली पानामा चहकिलोसँग घुमिरहेकै छन्, नाचिरहेकै छन् । अब यिनीहरूका गतिविधिले मलाई रिस उठ्दैछ, यिनीहरूले मलाई गिज्याए जस्तो लाग्छ । मैले यिनीहरूलाई पक्डिन र शब्द निर्माण गर्न नसक्नुमा यिनीहरू आफ्नो विजय ठान्दै रमाइरहेका छन् ।

अकस्मात यिनीहरूदेखि मलाई रिस उठ्छ, मेरो ईच्छाविपरित यिनीहरू मेरो अगाडि तान्डव गरिरहेका छन्, अत्ति भो, मेरा हातहरू अघि बढ्छन् । सेता ,सफा र खाली पानामा नाचिरहेका क,ख,ग,घ..ज्ञ हरूलाई म च्याप्प समाउँछु, दुई हातले निमोठ्छु, सेता, सफा र खाली पाना कच्याककुचुक हुन्छन् र डल्लो पारेर नजिकैको डस्टबिनमा फ्याकिदिन्छु । एकछिन आनन्द महसुस गर्छु ।

मेरा आँखा डस्टबिनबाट अन्त जानै मानिरहेका छैनन् । म पुनः डस्टबिनमा हेरेर एकोहोरिन थाल्छु, त्यतिबेलै अर्को आश्चर्य आएर म मा बजारिन्छ । डस्टबिनमा सेता पानासँगै गुटमुट्याएर फ्यालेका क, ख, ग, घ…ज्ञ हरू जर्‍याकजुरुक उठेर आउँछन्, यसपटक म भित्र, मेरो शरीर भित्र । अब क, ख, ग, घ…ज्ञ हरू त म भित्रै नाच्न थाल्दैछन् शीरदेखि पाउसम्म क्रमश तल र माथि, यता र उता ।

म आफूलाई सम्हाल्नै नसक्ने अवस्थामा पुग्छु, टाउको बेस्सरी दुखेको महसुस गर्छु, बान्ता आउला जस्तो हुन्छ, चिट–चिट पसिना छुट्छ, हातखुट्टा चिसो महसुस हुन्छ । लगत्तै म सपनाबाट बिउझिएजस्तो हुन्छु, जुरुक्क उठ्छु, यता उता शन्नाटा छ, हातमा कलम जस्ताको तेस्तै छ । हैन मलाई यो के भयो ? म कहाँ थिए, मलाई के भएको थियो ? कहाँ गए क, ख, ग, घ…ज्ञ हरू एकछिन खोज्छु । तर, न तिनीहरू बाँकी रहेका सेता, सफा र खाली पानामा भेटिन्छन्, न अघि जस्तै आफैँभित्र ।

आफैँलाई खोज्छु, महसुस गर्छु, म चिसो भइसकेको छु, नाक मुख सुकेजस्तो, भर्खर डरलाग्दो सपनाबाट बिउँझिएजस्तो । अलि पर पानी राखिएको छ, बोतलको बिर्को खोलेर घटघटि पिउन थाल्छु । पानी जिब्रो र घाँटीलाई चिसो बनाउँदै पेटसम्म पुगेको महसुस गर्छु । शान्त र शीतल महसुस हुँदैछ । म लेख्न बसेको मान्छे, मैले किन केही लेख्न सकिन, मलाई के भो, यही सोच्छु, मलाई क, ख, ग, घ…ज्ञ ले किन यसरी जगडे ? किन मैले उनीहरूलाई समेल्न सकिन, किन उनीहरू ममाथि नै यसरी हावी भए, कसरी ? यिनीहरूले ममाथि नै आक्रमण कसरी गरे ?

ओहो यिनीहरू कति बलिया रहेछन्, म यही सोच्दैछु । म अझै अघिका क, ख, ग, घ…ज्ञ को प्रवेश र तिनका गतिविधि सोचिरहेछु । के यो साँच्चिकै घटेको थियो या अरू केही, म सोचिरहेको छु ती बलिया अक्षर बारे । ती अक्षरहरूको शक्ति सामथ्र्यबारे । सोच्दैछु अक्षरहरू साँच्चै बलिया रहेछन् । यतिबेला रातको साढे एक बजेको छ ।

प्रतिक्रिया दिनुहोस्