Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


दसैंको चहलपहल देखिएन बागलुङका बजारमा


0
Shares

बागलुङ, असोज १७ । दसैं सुरु भइसक्दा पनि बागलुङका बजारमा चहलपहल देखिएको छैन । यतिबेला बजारमा चहलपहल र भीड बढ्ने तथा व्यापारीलाई भ्याई–नभ्याई हुनु पर्ने हो तर विगतका वर्षहरुको तुलनामा यस वर्ष बागलुङमा त्यति चहलफल देखिएको छैन ।

बागलुङका केही पसलहरुमा किनमेल गर्नेहरु राम्रै देखिए पनि कतिपय पसलका व्यापारीहरु ग्राहक पर्खिएर बसेको देखिन्छ । उनीहरु संघीयताले गर्दा व्यापार ह्वात्तै घटेको बताउँछन् ।

चाडवाडको बेलामा व्यापार राम्रो नभएपछि बागलुङका व्यापारीहरुमा निराशा छाएको छ । पहिले दसैंको सुरुवातदेखि नै राम्रो आम्दानी हुने गरेको तर अहिले ५ हजारको व्यापार गर्न पनि मुस्किल भएको व्यापारीको भनाइ छ ।

गलकोट, जैमिनी, काठेखोला लगायतका ठाउँहरुबाट ग्राहकहरु आउने गरेकामा पछिल्लो समय गाउँबाट पनि ग्राहकहरु आउन छाडेको उनीहरु बताउँछन् । २०७४ सालसम्म सबै प्रशासनिक कार्यालयहरु बागलुङमा हुँदा जिल्लाका सबै क्षेत्रहरुबाट मानिसहरु किनमेलको लागि आउने गर्थे भने देश संघीयतामा गएपछि ठाउँ–ठाउँमा स्थानीय तह गठन भएकोले बागलुङ बजारको व्यापार खस्कँदै गएको स्थानीयको आँकलन छ ।