प्रकाश लम्साल
बारा, असोज १६ । बहुप्रतीक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य भागमा पर्ने टाँगीयावस्तीका बासिन्दाहरु चिन्तित बनेका छन् । आगामी मंसिरमा विमानस्थलको शिलान्यास गर्ने सरकारको तयारी भए पनि स्थानान्तरणको टुंगो नलागेका कारण स्थानीय चिन्तित बनेका हुन् ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास आगामी मंसिरमा गर्ने पर्यटनमन्त्री योगेश भट्टराईले उद्घोष गरेसँगै टाँगियाबस्तीका स्थानीय त्रसित बनेका छन् । विमानस्थलको क्षेत्रभित्र पर्ने उक्त बस्तीलाई पुनर्वास कहाँ गर्ने भन्ने टुंगो नलागेका कारण स्थानीय चिन्तित बनेका हुन् ।
७ सय ३३ बिगाह क्षेत्रफल ऐलानी जग्गामा रहेका एक हजार चार सय ७६ घरधुरीले पत्रकार सम्मेलन गरी चिन्ता प्रकट गरेका छन् । सरकारले तोकेको स्थानमा जाने भनिरहेका बेला शिलान्यासअघि पुनर्वास नगराए शिलान्यास हुन नदिने स्थानीय केदार बजगाईँको भनाइ छ ।
२०५१ सालमा विमानस्थल निर्माण गर्ने चर्चा चलेसँगै यस बस्तीमा विकासका आधारभूत पूर्वाधार निर्माण कार्य रोकिएको थियो । पुनर्वासको टुंगो लगाएपछि मात्र शिलान्यास गरिनुपर्ने उनीहरुको माग छ । टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा शिलान्यास हुनुअघि नै स्थानान्तरणको खाका आफूहरुलाई दिनुपर्ने बताउँछन् ।
विमानस्थल निर्माण गर्ने कार्यलाई आफूहरुले स्वागत गरिरहेको भन्दै स्थानीयले आफूहरुलाई बिचल्ली पार्न नहुने बताउँदै आएका छन् । यता बिमानस्थल आयोजना प्रमुख ओम शर्मा भने स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरणका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रकृया टुंगो लगाइने बताउँछन् ।
राष्ट्रिय गौरवको आयोजना शिलान्यास गर्ने सरकारी घोषणा अब केही महिनामात्रै बाँकी भए पनि बस्ती स्थानान्तरणलाई महत्वका साथ नहेरिएको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्