काठमाडौं, असोज १५ । दसैंको रौनकले सहर, बजार, गाउँघर छोपिसकेको छ ।
कोही गाउँघर फर्कने चटारोमा छन् भने कोही किनमेलमा व्यस्त छन् ।
यतिबेला सहर, बजारहरुमा दसैंको व्यापार निकै फस्टाएको छ । सहरका गल्ली–गल्ली, चोक–चोकका पसलहरुमा ग्राहकको घुइँचो लागेको छ ।
राजधानी काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका स्थानहरुमा दसैंका लागि सामान किन्नेहरु व्यस्त भेटिन्छन् ।
सामान किन्न मानिसहरु ‘सपिङ मल’लगायतका ठूला पसलहरुमा मात्र नभइ फुटपाथमैसमेत ओइरिएका छन् ।
दसैंमा सामान किन्दा छुट पाउने आशामा पनि किनमेल गर्ने गरेको केही उपभोक्ता बताउँछन् ।
दसैंले सबैमा उत्साह थप्ने गर्छ । तर, केही उपभोक्ताहरु भने अघिल्लो दसैंमा भन्दा यो दसैंमा धेरै नै महँगी बढेको भन्दै आफूहरुले निकै नै मार खेप्नुपरेको गुनासो गर्छन् ।
असत्यमाथि सत्यको विजय भएको यस पर्वमा ठूलाको आर्शिवाद लिने र आफन्त र आफ्नाहरुसँग भेटघाट गरी मनाइने यस पर्वमा लामो समयदेखि छुटेकाहरु पनि एकसाथ भेटिन्छन् ।
दसैंले मानिसहरुलाई उत्साहित र अर्थतन्त्रसमेत चलायमान बनाउने हुनाले यसको आर्थिक दृष्टिकोणले पनि उत्तिकै महत्व रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्