Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने


0
Shares

बारा । तस्कर, कर्मचारी र राजनीतिक दलका नेताहरुले एक वर्षदेखि सेवनयोग्य प्रमाणित गर्न चलखेल गरेको ७२ हजार केजी अखाद्य चिनी भोलि नष्ट गरिने भएको छ ।

एक वर्षदेखि पटक–पटक नमुना परीक्षण गरेर चिनी सेवनयोग्य बनाउने चलखेल गरिएको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षण गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनि चैत ६ गते प्रमाणित गरेपछि उक्त अखाद्य चिनी नष्ट गर्न लागेको हो ।

विगत एक वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको ७२ हजार केजी भारतीय चिनी चिनी २०७६ फागुन २५ गते खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले उपभोग मिति समाप्त भएर अखाद्य भनेको थियो । तर मिलेमतोमा जलेश्वर भन्सारबाट यो नेपाल भित्रिएको थियो ।

अनुष्का मल्टिपर्पोजले गत वर्ष फागुन २५ गते भारतबाट आयात गरेको चिनी छोटो दूरीको वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गरेर नेपाल भित्र्याउदै गर्दा ठुलो दबाब सृजना भएपछि राजस्ब अनुसन्धान पथलैया नियन्त्रणमा लिन बाध्य भएको थियो ।

सेवन गर्न अयोग्य प्रमाणित भएको चिनीलाई अदालतले आवश्यक व्यवस्थापन गर्नु भनेकोले चिनी नष्ट गर्न लागिएको राजस्व अनुसन्धान पथलैयाका प्रमुख अनुसन्धान अधिकृत टंक पाण्डेले जानकारी दिनुभयो ।