
गृष्मा राजभण्डारी र सानु माली (इमेज)
काठमाडौं, असोज १४ । राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले सडक बालबालिका र किशोर–किशोरीको उद्धारको अभियानलाई निरन्तरता दिइरहेको छ ।
असोज १३ गतेको रातमा पनि काठमाडौंका विभिन्न स्थानमा छापा मारेर ५० भन्दा बढी बालबालिका र किशोर–किशोरीहरुलाई नियन्त्रणमा लिइ पुनःस्थापना केन्द्र पठाइएको छ ।
सडक बालबालिका र किशोर–किशोरीको उद्धारको निरन्तरतास्वरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले यही असोज १३ पनि काठमाडौंका विभिन्न क्षेत्रबाट सडक बालबालिकाको उद्धार गरेको छ ।
त्यसो त अधिकांश बालबालिकालाई उद्धारबारे जानकारी हुने गरेको छ । तर, उनीहरुले सडक छोड्न नसकेको देखिन्छ । त्यसैले त उद्धार टोली पुग्नेबित्तिकै उनीहरु भाग्न खोज्छन् ।
कुलतमा फसेका बालबालिकाहरुको स्थिति पनि यस्तै देखिन्छ । उनीहरुको रोजाइ पनि पुनःस्थापना केन्द्र र घरभन्दा सडक नै हुन गरेको छ ।
यौन व्यवसायमा संलग्न किशोरीहरु रातको समयमा सडकमा ग्राहक खोज्दै गरेको अवस्थामा भेटिने गरेका छन् ।
मोलमोलाइकैक्रममा पक्राउ परेका कति त आफ्नो पेसा स्वीकार्न नै तयार भएनन् । सडकलाई यौन व्यवसायको थलो बनाउने अधिकांश काठमाडौंबाहिरका छन् ।
उद्धारकाक्रममा पर्यटकीय क्षेत्र ठमेलका सडकपेटीमा समूहमा बसी ग्राहक खोज्नेको संख्या पनि ठूलो भेटियो ।
उद्धार टोलीलाई चिथोर्ने र गाली गर्ने गरेका उनीहरुले नियन्त्रणमा लिने डरले आफैंलाईसमेत चोट पुर्याउन पछि परेनन् ।
नियन्त्रणमा लिइएकाहरुमा केही दिनअघिमात्र यसरी नै उद्धार गरी अभिभावकको जिम्मा लगाइएका किशोरी पनि भेटिइन् । उनी सडकमा फेरि पुरानै काममा संलग्न रहेको अवस्थामा भेटिएकी हुन् ।
उद्धार टोलीले जोखिमपूर्णरुपमा सहरका भित्री भागहरु पुगेर कुलतमा लागेकाहरुलाई पनि उद्धार गर्ने गरेको छ ।
करिब दुई साताको अवधिमा २०० भन्दा बढी बालबालिका र किशोर–किशोरीलाई उद्धार गरिसकेको छ ।
यसबाट सहरमा सडक बालबालिका र किशोर–किशोरीको संख्यामा धेरै हदसम्म कमी आएको छ ।
यो अभियानकै कारण टोलटोलमा चोरीका घटनमा पनि कमी आएको प्रहरी नायव उपरीक्षक लालध्वव सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस्