२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


कञ्चनपुरमा बजार अनुगमन औपचारिकतामा सिमित


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा बजार अनुगमन औपचारिकतामा मात्रै सिमित भएको छ ।

बजारमा अखाद्य वस्तु तथा मापदण्ड विपरीत सञ्चालित पसलहरु भेटिए पनि कसैमाथि कारवाही नभएपछि चाडवाड लक्षित बजार अनुगमन औपचारिकता मात्रै सिमित भएको हो ।

स्थानीय प्रशासनसहितको अनुगमन टोली महेन्द्रनगरको सब्जीमण्डी पुग्दा धेरै मासु पसलहरु बन्द भइसकेका थिए । खुलेका पसलहरुमा समेत पसलेहरुको भागाभाग भएको थियो ।

अनुगमनका क्रममा अधिकांश बधशाला तथा मासु पसलले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।

पसलमा मान्छे नै नभेटिएपछि टोलीले कारवाही गर्ने र निर्देशन दिनुको साटो पसलहरुको अवलोकन गरेर फर्किएको छ ।

यता महेन्द्रनगरका अधिकांश किराना पसलमा म्याद नाघेका खाद्यवस्तु बरामद भएका छन् । जसमध्ये बिस्कुट, आलु चिप्स, चियो पेय पदार्थ, मसला बढी भेटिएका छन् ।

त्यस्तै ९० प्रतिशत पसलहरुमा मूल्य सूची नराखेको भेटिएको छ ।

टोलीले बरामद भएका म्याद नाघेका खाद्यवस्तुकोे मुचुल्का उठाएपनि कसैमाथी कारवाही भने गरेको छैन ।

बजार अनुगमनका क्रममा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, आन्तरिक राजस्व कार्यालय, नगरपालिकालगायतको सहभागिता रहेको थियो ।