काठमाडौं । दशैको अवसरमा नयाँ नोट साट्नेको लाईन लागेको छ ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंककका विभिन्न शाखा मार्फत् रु ५, १०, २०, ५० र सयका नोटहरु एक एक प्याकेट गरि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्मको सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, किर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट भक्तपुर लगायतका शाखाबाट नोट सटहीको सुविधा उपलब्ध गराएको जनाएको छ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसर, नयाँ बानेश्वर, सानो ठिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखाबाट नयाँ नोट वितरण हुदै आएको जनाइएको छ ।
यस्तै कृषी विकास बैकको गौशाला, गठ्ठाघर, रामशाहपथ , थानकोट, पुल्चोक शाखाबाट नोट सटही सुविधा उपलब्ध गराईएको बैंकले जनाएको छ ।
साथै नोटमा केरमेट नगर्न, रंग नलगाउन तथा नोटको आकार नबिगार्न पनि बैंकले आग्रह गरेको छ । मुलुकी ऐन २०७५ मा नोट बिगार्ने वा रङ लगाएमा कारबाहीको व्यवस्था गरिएको छ ।
नोटमा केरमेट गर्न नहुने र नोट झुत्रो बनाउन वा रङ लगाइ अक्षर नचिनिने बनाउन नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
मुलुकी ऐनमा रङ लगाएमा वा बिगारेमा तीन वर्षसम्म कैद र ३० हजारको जरिवानको व्यवस्था छ ।
मुलुकी ऐनमा गरिएको यो व्यवस्था अनुसार कारबाही हुुने भएकोले नोटको सुरक्षामा ध्यान दिन राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले आग्रह गरिन ।
नेपाल राष्ट्र बैंकले सबै राष्ट्रिय चाडपर्वमा नयाँ नोट उपलब्ध गराउने नीतिगत व्यवस्था गरेको भएपनि हाल भने दशैमा मात्र नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्