६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सरकारले संविधान र कानुन मिच्दै गए संसद छाडेर जान्छौं : कांग्रेस


0
Shares

काठमाडौं, जेठ ३१ । सरकारले संविधान, ऐन, कानुन, नियम मिच्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ ।

मन्त्रीहरुले आफू अनुकूल काम नगरे जेल हाल्ने चेतावनी दिँदै चौतर्फीरुपमा थर्काउन थालेको भन्दै कांग्रेसले कडा आपत्ति जनाएको हो ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले ‘काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो ?’ भन्दै तर्साउने गरेको आरोप लगाए ।

उनले संसदमा कांग्रेसको उपस्थिति कमजोर भएपनि जनमत बुझ्न चेतावनी दिँदै संसदबाटै विधि, विधान र संविधान पालना नभए संसद छाड्ने अवस्था आउने चेतावनी दिए ।

सांसद रिजालले ‘पत्रकारले सोधेको प्रश्नमा चित्त नबुझेर कार्यक्रम बन्द गराउने सरकार अधिनायकवाद नभएर के हुनसक्छ ?’ भनी प्रश्न गरे ।

कांग्रेसकै सांसद मीन विश्वकर्माले सरकारलाई नियम, कानुन र संविधानअनुसार काम गर्न आग्रह गर्दै सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्थालाई दलीय स्वार्थमा अपव्याख्या गरिएकामा आपत्ति जनाए । उनले सरकार स्वेच्छचारी बन्दै गएको आरोप पनि लगाए ।

बजेटमाथिको छलफलमा भाग लिने क्रममा विपक्षी सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सत्तारुढ दलकै सांसदले पनि सरकारले ल्याएको बजेट अर्थहीन भएको बताएका छन् ।

जिल्लामा कुनै योजनाहरु नसमेटिएको भन्दै सत्तारुढ दलकै सांसदहरुले ‘सरकार आफ्नै छ भन्न कहाँ जाने हो ?’ भन्दै प्रश्न गरेका थिए ।

सांसदहरुले बजारमा कृत्रिम अभाव देखाएर मूल्यवृद्धि गरिएको र ‘सिन्डिकेट’ कायमै रहेको भन्दै आपत्ति पनि जनाएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै सांसदहरुले पनि तत्काल बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।