३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


जिल्ला प्रशासन कार्यालयको भवन निर्माण सात वर्षदेखि अलपत्र


13
Shares

-पुजन धिताल/ईमेज

काभ्रे । निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा पनि काभ्रेपालाञ्चोकको जिल्ला प्रशासन कार्यालय भवन अझै सम्पन्न हुन सकेको छैन ।

ठेकेदारसँग मुद्दा चलेपछि रोकिएको काम अझै सुरु नहुँदा भवन निर्माण अलपत्र परेको हो ।

अन्य क्षेत्रमा भइरहेका अनियमितताको निगरानी गर्ने जिल्ला प्रशासन कार्यालय काभे्रको भवन निर्माणमा आलटाल देखिएको छ ।

आफ्नै भवन नहुँदा जिल्ला प्रशासन कार्यालय र सीडीओको क्वाटरको भाडाबापत अहिले वार्षिक १ लाख ५१ हजार रुपैयाँ खर्च तिर्नुपरेको हो ।

७ वर्षअघिदेखि निर्माणाधीन  भवन वरपर निर्माण समाग्री छरिएको अवस्थामा रहेका छन् भने कतिपय बिग्रिसकेका छन् ।

काम सम्पन्न गर्नुपर्ने समयसीमा पटकपटक सकिएर म्याद थपिए ठेकेदारको लापरवाहीले काम अगाडि बढ्न सकेको छैन् ।

२०६९ साल वैशाखमा भवन निर्माणको लागि ४ करोड ३२ लाख रुपैयाँमा पहिलोपटक सम्झौता भएको थियो ।

पछिल्लो पटक २०७१ पौष महिनामा काम सम्पन्न गर्ने गरी थपिएको समयसीमा पनि पार भइसकेको छ ।

ठेकेदारले काममा चासो नदेखाएपछि गत वर्षको भदौमा सीडीओ कार्यालयले ठेक्का रद्द गरेको थियो ।

सीडीयो कार्यालय र ठेकेदारबीच अहिले पनि मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।

गत भदौमा सरुवा भई आउनुभएका प्रमुख जिल्ला श्रवण कुमार तिमिल्सिना भने मुद्दा टुंगो लगाई छिट्टै नै भवन निर्माण सम्पन्न गरिने धारणा राखे ।

निर्माणाधीन भवनमा बाल इजालस, बाल मैत्री, अपाङ्ग मैत्री, प्रहरीको क्वाटर, सुविधा सम्पन्न पार्किङ, सहित जिल्ला प्रशासनको कार्यालय राखिने गरी तयारी गरिएको छ ।

ठेकेदारले ३८ प्रतिशत काम गरे पनि अझै ६२ प्रतिशत काम बाँकी रहेको छ । कार्यलयको भवन नहुँदा सेवाग्राहीले समेत सास्ती पाएका छन् ।