२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


अवैध तरिकाबाट तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीको दिल्लीबाट उद्धार


0
Shares

काठमाडौं, साउन ९ । अवैध तरिकाले तेस्रो मुलुक लैजान लागिएका १६ नेपाली चेलीलाई भारतको राजधानी नयाँ दिल्लीमा उद्धार गरिएको छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालका अनुसार ती नेपाली चेलीलाई इराक, कुवेत लगायतका मुलुकमा लैजानका लागि दिल्लीको एउटा घरमा बन्धकसरह राखिएको अवस्थामा उद्धार गरिएको हो । गएराति छापा मारेर उनीहरुलाई उद्धार गरिएको मालिवालले बताइन् ।

राति करिब १ः३० बजे मुनिरकास्थित एक घरमा दिल्ली महिला आयोगसहितको टोलीले छापा मारेको हो । छापा मार्ने क्रममा १६ नेपाली महिलालाई तेस्रो मुलुक लैजानका लागि बन्धकसरह राखेको अवस्थामा फेला पारिएको उनले बताइन् । उनका अनुसार १५ दिन अघि ७ महिलालाई इराक तथा कुवेत पठाइएको तथ्यसमेत फेला परेको छ ।

ती महिलालाई राखिएको घर बसन्त बिहार प्रहरी स्टेशनबाट ५०० मिटरको दुरीमा रहेको बताइएको छ । प्रहरी चौकी नजिकै अड्डा बनाएर लामो समयदेखि मानव तस्कर गिरोहले नेपाली महिलालाई अवैध रुपमा तेस्रो मुलुक लैजाने कार्य गर्दै आए पनि प्रहरीले उक्त गिरोहका बारेमा सुइँको नपाउनु अनौठो भएको अधिकारकर्मीको भनाइ छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष मालिवाल भन्छिन्, ‘जहाँबाट ती महिलाको उद्धार गरिएको छ, त्यो ठाउँ प्रहरी चौकीबाट ५०० मिटरको दुरीमा छ, हामीले थाहा पाउँदा प्रहरीले कसरी मानव तस्करीको अवैध धन्दाबारे थाहा पाउँदैन ?’

उद्धार गरिएका महिलाहरुलाई लामो समयदेखि एउटा साँघुरो कोठामा थुनेर राखेको पाइएको पनि उनले बताइन् ।