२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024


बिनाजानकारी पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा सर्लाहीवासी मारमा


0
Shares

सर्लाही, असोज ११ । बिनाजानकारी दैनिक पटक–पटक लामो समयसम्म विद्युत् कटौती हुँदा सर्लाहीका स्थानीय मारमा परेका छन् । धेरैजसो राति विद्युत् कटौती हुने गरेको छ ।

अनियमित विद्युत् कटौतीले सर्वसाधारणसँगै उद्योगी–व्यवसायी पनि मारमा परेका छन् ।

उद्योग वाणिज्य संघ बरहथवाका अध्यक्ष निरञ्जनप्रसाद दासले अघोषित लोडसेडिङले समस्या भइरहेको जानकारी दिए ।

रौतहटको चन्द्रनिगाहपुरबाट सर्लाहीका लागि ल्याइएको ३३ केभी प्रसारणलाइनको विद्युत् हरिपुर, बरहथवा र मलंगवा सबस्टेसनबाट जिल्लाभर प्रवाह हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय उपकरणको भार थेग्न नसकेर बेला–बेलामा आफैं विद्युत् कटौती हुने गरेको छ ।

अधिकांश खम्बा र उपकरण जीर्ण भएका कारण पनि विद्युत् प्रवाहमा समस्या आउने गरेको प्राविधिक बताउँछन् ।

प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले अधिक भारपरेको समय र हावाहुरीको समयमा मात्रै विद्युत् कटौती भइरहेको दाबी गरे ।