Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


जिइलाई ३ वटा ४ सय केभीकाे सब–स्टेशन ठेक्का


0
Shares

काठमाडौं । जिइले नेपालमा ३ वटा ४ सय केभीको ग्यास इन्सुलेटेड सब–स्टेशनहरू निर्माणको ठेक्का प्राप्त गरेको छ । नेपाल विद्युत प्राधिकरणद्वारा ठेक्का स्वीकृत गरिएको विद्युत प्रसारण एवं वितरण परियोजना एशियाली विकास बैंक र नेपाल सरकारको लगानीमा सञ्चालित आयोजना हो ।

देशको ग्रीड प्रणालीमा करिब १ हजार मेगावाट नवीकरणीय ऊर्जा थप गरी नेपालको विद्युत् प्रसारण क्षमता अभिवृद्धि गर्ने र लाखौं घर परिवारलाई बिजुलीको पहुँचमा ल्याउने आयोजनाको लक्ष्य छ । जिइ रिन्युएबल इनर्जीज् ग्रीड सोलुसन्स बिजनेस (एनवाइएसइजिइ) ले नेपालको खिम्ती, बाह्रबिसे र लप्सीफेदीमा अवस्थित ३ वटा ग्यास–इन्सुलेटेड सब–स्टेशनहरूको स्तरोन्नति गर्नेछ ।

जिइले ३ वटा सब–स्टेशनहरूको क्षमता २२० केभीबाट ४४० केभी बनाउँदैछ । निर्माण गर्न लागेको सबस्टेशन नेपाल दक्षिण एशिया उप–क्षेत्रीय आर्थिक सहयोग(सासेक) विद्युत प्रसारण एवं वितरण परियोजनाको एक महत्वपूर्ण हिस्सा भएको कम्पनीले जनाएको छ ।

अहिले बन्न लागेको परियोजना नेपालको सम्पूर्ण भू–भागमा दिगो, भरपर्दो एवं सर्वसुलभ बिजुली उपलब्ध गराउने लक्ष्यलाई पूरा गर्ने दिशाको एक महत्वपूर्ण कदम भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।

‘सबै नेपालीहरूलाई विद्युत् उपभोगको पहुँचमा ल्याउने र बिजुली व्यापारको सम्भावना पनि स्थापित गर्ने हाम्रो आधारभूत उद्देश्य हो,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो लक्ष्यमा जिइसँग सहकार्य गर्न पाएकोमा हर्षित छौं ।’

जिइको ग्यास इन्सुलेटेड सब–स्टेशन(जिआइएस) प्रविधि विश्वकै सबैभन्दा आधुनिक सब–स्टेशन प्रविधि मध्येको एक हो । यसको स्थापनाको लागि एयर इन्सुलेटेड सब–स्टेशन (एआइएस) को दाँजोमा ७० प्रतिशत कम जमिन भए पुग्छ । नेपालको यो स्तरोन्नति आयोजनाको लागि आवश्यक सम्पूर्ण उपकरणहरू जिइको ग्रीड सोलुसन्सको अत्याधुनिक नवीनतम प्रविधिको कारखानामा उत्पादन गरेर आपूर्ति गरिनेछ ।