२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कुलतमा नफस्ने प्रतिबद्धता


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, असोज १० । सडकबाट उद्धार गरिएका लागुऔषध दुर्व्यसन र कुलतमा फसेका किशोर–किशोरीहरु विस्तारै सचेत हुन थालेका छन् ।

राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले सक्रियता देखाएर उद्धार गरिएका कतिपयले अब आफूहरु कुलतमा नफस्ने प्रतिबद्धता जनाएका छन् ।

यही असोज ५ र ८ गते सडकबाट उद्धार गरिएका बालबालिका र किशोर–किशोरीको अवस्था बुझ्न हाम्रो टोली जोरपाटीस्थित सोबर रिकभरी सेन्टरमा पुग्दा धेरैले आफ्नो भनाइ राख्न चाहेको भन्दै हात उठाएका थिए ।

तीमध्ये अधिकांशले आफ्नो परिवार रहेको र रातको समयमा निस्कँदा नियन्त्रणमा लिएको भन्दै गुनासो पोखे ।

केहीले अन्य बालबालिका र किशोर–किशोरीलाई सडकमा अल्लारे भएर नहिँड्न आग्रहसमेत गरे ।

यता, आफू पनि कुनै समय दुर्व्यसनी भएको र पछि सुध्रिएको भन्दै सोबर रिकभरी सेन्टरका प्रोग्राम म्यानेजर प्रकाश लामाले सुरुका दिनमा आफूलाई पनि यस्तै लागेकोे र विस्तारै बानी पर्दै जाने बताए ।

कतिपय किशोर–किशोरीहरु रिकभरी सेन्टरमा बस्दा सुध्रिएर निस्केपछि पनि पुनः सडकमै पुग्ने गरेका छन् ।

त्यस्तैमध्येकी एक किशोरीले आफू दुईपटक रिकभरीमा बसेर निस्के पनि तेस्रोपटक नियन्त्रणमा परेको भन्दै अब सुध्रिने प्रतिबद्धता जनाइन् ।

राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रले दुई दिनको अभियानकाक्रममा ७६ जनालाई नियन्त्रणमा लिइ सो सेन्टरमा राखेको छ ।

यहाँ महिला र पुरुषलाई अलग–अलग कक्षमा राखिएको छ । कतिपयलाई निकै फोहोरी अवस्थामा उद्धार गरिएको थियो । अहिले उनीहरु सफा, चिटिक्क देखिन्छन् ।

किशोर–किशोरीहरु रिकभरी केन्द्रको नियमित काममा संलग्न हुन थालेका छन् ।

राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रले कुलतमा लागेका सडक बालबालिका र किशोर–किशोरीको पुनःस्थापनाको उद्देश्यले उद्धार थालेको हो ।

उनीहरुलाई कुलतबाट छुटाउन सोबर रिकभरी केन्द्रको जिम्मा लगाइएको हो । यसवापत् राष्ट्रिय बालअधिकार परिषद्ले यो संस्थालाई प्रतिव्यक्ति महिनाको ८ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको छ ।

संस्थामा राखेको १६ दिनअघि सम्बन्धित व्यक्तिको परिवारले बुझी लगेको खन्डमा भने परिषद्ले रकम उपलब्ध गराउनुपर्दैन ।

केही किशोर–किशोरीहरु सुधारगृहबाट निस्केपछि पुनः सडकमै पुग्ने गरेका छन् । यो अवस्थाको अन्त्य गर्न भने अहिले पनि चुनौतीपूर्ण देखिएको छ ।

भिडियो हेर्नुहोस्