
बैतडी, चैत १२ । बैतडीमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार आदेश जारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सतर्कता अपनाउनका लागि १० बुँदे आदेश जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भिडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ ।
नजिक आएको होली पर्व सामूहिक रुपमा नखेल्न, क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्न, स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दुरीको पालना गर्न प्रशासनले आदेश जारी गरेको छ ।
जिल्लास्थित सम्पूर्ण कार्यालय, संघसंस्था, शैक्षिक संस्थाहरु भौतिक दुरी कायम राखेर सञ्चालन गनुपर्ने, बैठक, गोष्ठी र सेमिनार भर्चुअल माध्यमबाट गर्नुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।
यस्तै राती अवेर सम्म होटल तथा पसलहरु सञ्चालन नगर्न आग्रह गरिएको छ भने सीमा नाकाबाट फर्किदा अनिवार्य कोरोना चेकजाँच गराएर फर्कन आग्रह गरिएको छ ।
आदेश पालना नगरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारावाही हुने चेतवानी समेत दिइएको छ ।
उक्त आदेश अर्को व्यवस्था नभएसम्मका लागि लागु हुने जनाइएको छ ।
पछिल्लो समयमा छिमेकी देश भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ ।
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउने व्यक्तिको कोरोना परीक्षण गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्