२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सडकमा धुलोको समस्या उस्तै


0
Shares

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)

काठमाडौं, असोज ९ । काठमाडौंका अधिकांश सडकमा धुलोको समस्या उस्तै छ । जसको मारमा आमसर्वसाधरण पर्ने गरेका छन् । समाधानका केही प्रयास पनि कमजोर देखिएका छन् ।

काठमाडौंका सडकहरु पानी पर्दा जलमग्न अनि हिलाम्मे हुने र घाम लागेपछि धुलाम्मे हुनेक्रम रोकिन सकेको छैन ।

भित्री सडकहरुमामात्र होइन, यस्तो अवस्था अधिकांश मूल सडकमासमेत देखिन्छ ।

संघीयताको कार्यान्वयनसँगै तीन तहका सरकारलाई सडक मर्मत–सम्भारको जिम्मा दिइएको छ ।

सडक खन्न हानथाप गर्ने तर मर्मत–सम्भारमा भने लापरबाही हुँदा सडकबाट उड्ने धुलोको मर्का सर्वसाधारणले खप्नुपरेको हो ।

मूल सडक चिल्लो हुँदैमा सडकमा धुलो उड्न कम हुन्छ भन्ने सोचाइ गलत भएको एक जनप्रतिनिधिको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले धुलो उठाउन दैनिक ‘ब्रुमर’को प्रयोग गर्ने गरेको छ । तर, ब्रुमर चले पनि न त धुलो हटेको छ न यहाँका जनताले धुलोमुक्त हावामा सास फेर्न पाएका छन् ।

अधिकांश भित्री सडक पिच नहुनु र त्यहाँ आवत–जावत गर्ने सवारी–साधनले त्यहाँको हिलोलाई मूल सडकसम्म पुर्‍याउनु अनि सडक दायाँ–बायाँका पेटी नभइ माटो हुँदा पनि सडकमा धुलो उड्न कमी नआउने एक कारण हो ।

विभिन्न संरचना निर्माणका लागि ल्याइने बालुवा, माटोजस्ता वस्तु व्यवस्थितरुपमा छोपेर नल्याउँदा ती वस्तु झर्दा पनि सडकमा धुलो हुने गरेका छन् ।

काठमाडौंमा सडक मर्मत–सुधार, विस्तारलगायतका विकासे कामहरु जुनसुकै समयम पनि भइरहेका हुन्छन् । विकास निर्माणका नाममा जथाभावी सडक खन्ने तर त्यसलाई तत्कालै पुरानै अवस्थामा नफर्काउँदा सडक नै धुलो उत्पादनको प्रमुख स्रोत बनिरहेका छन् ।

भिडियो हेर्नुहोस्