२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विद्युत आपुर्ति अनियमित हुँदा उपभोक्ता आन्दोलित


0
Shares

-नवीनराज कुइँकेल/ईमेज

लमजुङ । जलविद्युतको हब मानिने लमजुङमा विद्युत् आपुर्तिमा अनियमितता हुँदा उपभोक्ता हैरान बनेका छन् ।

छिनछिनमा विद्युत् जान थालेपछि लमजुङको सुन्दरबजार क्षेत्रका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

लमजुङ विद्युत उपभोक्ता संस्थाको लापरबाहीका कारण विद्युत् चुहावट बढ्दा कार्यालय, उद्योगधन्दा, विद्यालय, व्यापार ब्यवसायमा सबै क्षेत्रमा समस्या निम्ताएको हो । विद्युत्को  अनियमितताले दैनिक लाखौंको नोक्सानी बेहोर्नुपरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताहरु आन्दोलनमा उत्रिएपनि समस्या समाधानमा जिम्मेबार पक्ष गम्भीर हुन सकेको छैन । बिग्रिएका ट्रान्सफर्मर तथा पोल मर्मत् हुन नसक्दा विद्युत्को अनियमितता घट्न सकेको छैन ।

वितरणको जिम्मा लिएको लमजुङ विद्युत उपभोक्ता संस्थाले उपभोक्तासँग पैसा असुले पनि राम्रोसँग सेवा नदिएको सेवाग्राही बताउँछन् ।

जिल्लामा नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र कार्यालय पनि छ । तर, सो कार्यालयले पनि उपभोक्ता संस्थासँग विद्युत् किनेर बालिरहेको छ ।

वितरणको जिम्मा लिएको लमजुङ विद्युत् उपभोक्ता संस्थाले कमजोर संरचना मर्मतमा ध्यान नदिँदा समस्या निम्तिएको विद्युत् वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङको भनाइ छ ।

विद्युत् अनियमितताको विषयमा उपभोक्ताहरु पटक पटक संघर्षमा उत्रदैं आएका छन् ।

विद्युत् वितरणको जिम्मा उपभोक्ता संस्थाबाट प्राधिकरणमा लैजानुपर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ ।