२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


शुक्रबारदेखि ‘मेड इन नेपाल २०७६’


0
Shares

काठमाडौं, असोज ८ । स्वदेशी वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘मेड इन नेपाल २०७६’ मेला हुने भएको छ ।

नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको सातौं संस्करणको ‘मेड इन नेपाल’को तयारी करिब पूरा भएको मञ्चले जनाएको छ ।

मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी असोज १० र ११ गते राजधानीमा हुन लागेको मेलाबारे विस्तृत जानकारी गराएको हो ।

मुलुकभित्र स्वदेशी उत्पादन तथा सेवाको विस्तार, लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले मेला आयोजना गर्न लागेको मञ्चका अध्यक्ष निकोलस पाण्डेले बताए ।

मञ्चले सन् २००६ देखि निरन्तर यस्तो मेला आयोजना गर्दै आइरहेको छ ।

‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको प्रदर्शनीले सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने मञ्चले जनाएको छ ।

योपटकको मेलामा साना उद्यमीलाई पनि अवसर दिएको मञ्चले जनाएको छ । त्यसले साना व्यवसायबाट अगाडि बढेका उद्यमीलाई हौसला प्रदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताए ।

साना व्यवसायीलाई प्रवर्द्धन गर्न करिब १२ जना उद्यमीलाई निःशुल्क स्टलको व्यवस्थासमेत गरिएको पाण्डेले बताए ।

मेलामा शृंगार, कपडा, जुत्तालगायतका साना–ठूला वस्तु तथा सेवाका ७० बढी अवलोकनकक्ष रहने मञ्चले जनाएको छ ।

निःशुल्क प्रवेश दिइने मेलामा खाना महोत्सव, सांस्कृतिक कार्यक्रमसहित बालबालिकाहरुका लागि खेलकुदको व्यवस्था पनि गरिएको मञ्चले जनाएको छ ।