
काठमाडौं, असोज ८ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता, पारदर्शीता र कुशलता कायम गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै मन्त्री खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्रीरुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
विमानस्थल विदेशी पाहुनाका लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारीरुपमा तयारी गर्न नागरिक उडड्यन प्राधिकरणसँगसमेत पर्याप्त सहकार्य गर्नुपर्ने उनले बताए ।
उनले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने बताएको जनाइएको छ ।
मन्त्री खतिवडाले निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाइ विवेकीय एवं नीतिगतरुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको सहकार्य तथा सहयोग आवश्यक पर्ने बताएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्