२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


आर्थिक बर्षको पहिलो महिना आयात घट्यो, निर्यात बृद्धिदर बढ्यो


0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना शोधनान्तर बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक स्थितिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको जनाइएको हो ।

अघिल्लो महिनासम्म शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । यस अवधिमा आयात पनि घटेको छ भने निर्यात बढेको देखिएको छ ।

आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यातको वृद्धिदर २७.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २ प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको जनाइएको छ ।

यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु.१०६४ अर्ब ६४ करोड कायम भएको छ । यस अवधिमा मूल्य बृद्धि केही उकालो लागेको देखिएको छ ।

यस अवधिमा मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षको औसत मूूल्यबृद्धि ४ दशमलब ६ प्रतिशत रहेको थियो ।

बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च रु. २ अर्ब ६२ करोड र राजस्व संकलन रु.७७ अर्ब ५३ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।