
सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, असोज ७ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
रैराङ डेभलपमेन्ट हाइड्रोपावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.९ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।
गएको साउनमा नै निर्माण सम्पन्न भएको आयोजनाबाट काबेली करिडोरअन्तर्गत् पाँचथरको अमरपुरस्थित सबस्टेसनमार्फत् असोजको सुरुबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको परियोजनाका निर्देशक कुबेरमणि नेपालले जानकारी दिए ।
निजी क्षेत्रको लगानीमा सम्पन्न भएको आयोजना २०७३ सालदेखि सुरु भएको थियो ।
कुल एक अर्ब ६० करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने योजना भएपनि पहिरोलगायतका कारण १५ प्रतिशत लगानी बढेको निर्देशक नेपालले बताए ।
आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ र पाँचथरका स्थानीयको १० प्रतिशत लगानी रहेको आयोजनामा १५ प्रतिशत सर्वसाधारणको, २५ प्रतिशत रिडी हाइड्रोपावर कम्पनीको र ५० प्रतिशत सन्चालक तथा संस्थापक सेयरधनीको लगानी छ ।
प्रतिक्रिया दिनुहोस्