
धनकुटा, असोज ७ । २०७२ सालको भूकम्पले जीर्ण बनाएको धनकुटाको भेडेटारस्थित ‘भ्यू टावर’को पुनःनिर्माण सकिएको छ ।
पर्यटकको मुख्य आकर्षणकारुपमा रहेको भेडेटारको तीनतले भ्यू टावर ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
तत्कालीन जिल्ला विकास समिति, गाविस, पर्यटन विकास कार्यालय काँकडभिट्टाको संयुक्त लगानीमा २०७३ सालमै निर्माण सुरु भएको थियो । सहयोगको अभावमा भ्यू टावर निर्माणको काम बीचैमा अलपत्र बनेको थियो ।
स्थानीय तह गठन भएपछि भने स्थानीय सागुरीगढी गाउँपालिकाको पहलमा पुनःनिर्माण कार्य अघि बढेको थियो ।
२०५९ सालमा निर्माण गरिएको भ्यू टावर २०७२ सालको भूकम्पले जीर्ण बनाएपछि स्थानीय प्रशासनले भत्काएको थियो ।
चालू आर्थिक वर्षमा २० लाख रुपैयाँ छुट्याएर भ्यू टावरमा टायल बिच्छ्याउने, रेलिङ तथा कटेज निर्माण गरेर थप आकर्षक बनाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्