काठमाडौं, असोज ६ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिच एअरपोर्ट इन्टरनेसनल छनोट भएको छ ।
लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना सार्वजनिक—निजी साझेदारीमा निर्माण गर्न ज्युरिच एअरपोर्ट इन्टरनेसनल (एजी)लाई मात्र संक्षिप्त सूचीमा समावेश गरेको हो ।
प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बोर्डको सोमबार बसेको चालिसौं बैठकले उक्त आयोजनाका लागि यस कम्पनीलाई संक्षिप्त सूचीमा राख्दै विस्तृत प्रस्ताव माग गर्नेलगायतका विभिन्न निर्णय गरेको जनाइएको हो ।
यसैगरी, बैठकले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी गुरुयोजनासम्बन्धी विस्तृत अध्ययनका लागि बोर्डका उपाध्यक्ष अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा एक समितिसमेत गठन गरेको जनाइएको छ ।
बैठकले काठमाडौं बाहिरी चक्रपथका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई संक्षिप्त सूचीमा राख्ने निर्णय गरेको पनि बोर्डले जनाएको छ ।
यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत् परियोजना कार्यान्वयनका लागि आशयपत्र पेस गरी तोकिएको मापदन्ड पूरा गरेका भारतको एसजेभीएन, चीनको पावर कन्स्ट्रक्सन अफ चाइना र जापानको जे पावर वाटर तीन प्रस्तावकलाई संक्षिप्त सूचीमा राख्ने निर्णय गरेको पनि बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्