
काठमाडौं, असोज ६ । दसैं, तिहार, छठ, नेपाल संवत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापनलगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले दसैं मनाउन काठमाडौं उपत्यकाबाहिर जाने यात्रीहरुलाई यातायातको कुनैपनि समस्या नपर्ने दाबी गरे ।
यो वर्ष राम्रो तयारी भएको भन्दै उनले काठमाडौंबाहिर जाने कोहीपनि यात्रीले सिट नपाएर वा गाडी नभएर घर जान नपाउने अवस्था नआउने दाबी गरे ।
आफूहरुले १४ ओटा नागरिक सहायताकक्ष सन्चालमा ल्याएको र नागरिकहरुको गुनासो तत्काल सम्बोधन हुने पनि उनले विश्वास दिलाए ।
‘कालोबजारी र मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही’
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको बताए ।
गएको साउनमामात्रै एक हजार फर्ममा अनुगमन भएको र त्यसमध्ये ३४० फर्मलाई कारबाहीको दायरामा ल्याएको दाबी गरे ।
यसमध्ये १६० फर्मलाई २० लाख रुपैयाँसम्म जरिवाना गराएको भन्दै चाडपर्वको मुखमा कालोबजारी र मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए ।
‘देशैभरि विशेष ट्राफिक व्यवस्थापन’
ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि विशेष ट्राफिक व्यवस्थापन गरेको जिकिर गरे ।
सवारी–साधन दुर्घटनाको तथ्यांक हेर्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारणले भएको देखिएको भन्दै ढकालले यसतर्फ पनि आफूहरुले विशेष ध्यान दिएको पनि बताए ।
‘सरकारी नाटक सुरु’
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले भने चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाए । वास्तविक अनुगमन हुँदै नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्