२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय


0
Shares

काठमाडौं, असोज ६ । लगानी बोर्डको सोमबारको ४०औं बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेस गरी संक्षिप्त सूचीकरण (सर्ट लिस्ट)मा परेकामध्ये मापदन्ड र मूल्यांकनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत् निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न जुरिच एअरपोर्ट इन्टरनेसनल (एजी)लाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेस गर्नुपर्ने छ ।

बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेस गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलग–अलग समिति गठन गरेको छ ।

यातायातबारे एकीकृत सुझाव दिन निर्देशन

बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने–‘सबै काम समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ । त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।’

बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए । रासस