
काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ ।
त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको छ । नेता नेपालसँग उहाँका साथमा भीम रावललगायतका नेता पनि धुम्बाराही पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भेटका लागि बालुवाटारमै बोलाए पनि नेपाल त्यहाँ जान नमानेपछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।
ओली र नेपालबीच करिब चार महिनापछि भेट हुन लागेको हो । नेकपामा मतान्तर बढेपछि नेपालले ओलीसँग अलग्गै भेट गर्नुभएको थिएन ।
सर्वोच्च अदालतको फैसलापछि ब्यूतिएको नेकपा एमालेमा आन्तरिक रडाको मच्चिएका बेला हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
नेपाल पक्षले पार्टीलाई एकढिक्का बनाएर लैजाने हो भने ओली समूहले पछिल्लो समयमा गरेका निर्णयहरु खारेज हुुनपर्ने माग गरिरहेको छ । पार्टीलाई एकीकरणपूर्वको अवस्थामा फर्काउने हो भने नयाँ ढंगबाट छलफल हुन सक्ने यो समूहको निष्कर्ष छ ।
यसअघि प्रधानमन्त्री ओलीले हिजो राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो भने वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्