काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्यातजन्य उद्योगमा लगानी वृद्धि गरिनुपर्ने बताएका छन् ।
काठमाडौंस्थित भृकुटीमन्डपमा जारी धागो तथा टेक्सटाइल मेलाको शनिबार अवलोकन गर्दै उनले यसका लागि सरकारले विभिन्न सहुलियत दिनुपर्ने बताए ।
मेला आयोजक धागो उत्पादक संघले शनिबारसम्म २५ हजारजनाले अवलोकन गरेको र दुई करोड रुपैयाँ बराबरको कारोबार भएको जनाएको छ ।
मेलामा धागो, ऊनी धागो, नेपाली कपडा, गलैंचाजस्ता स्वदेशी सामग्रीहरु राखिएका छन् ।
यस व्यवसायमा आवद्ध व्यवसायीहरुले निर्यात प्रवर्द्धनका लागि सरकारले सहुलियत नदिएको गुनासो गरेका छन् ।
नेपाल राष्ट्र बैंकले तोकेको सुविधासमेत आफूहरुले नपाएको र ब्याजदर बढी लगाइएको गुनासो संघका अध्यक्ष पवन गोल्यानको छ ।
नेपाली धागो तथा कपडा भारत, चीन, भुटान, थाइल्यान्डलगायतका विभिन्न मुलुकमा निर्यात हुने गर्छ ।
आर्थिक वर्ष २०७५/७६ मा ऊनको धागोमात्रै चार अर्ब तीन करोडको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । सोही अवधिमा सात अर्ब ७१ करोडको गलैंचा निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालबाट अन्य मुलुकमा निर्यात हुने वस्तुहरुमा सबैभन्दा बढी गलैंचा, धागो तथा ऊनी धागो रहेको छ । सरकारले सहयोग गरेमा थप निर्यात गर्न सकिने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्