३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


चाडपर्व नजिकिएसँगै खाद्य बजारमा मनपरी मूल्य निर्धारण, उपभोक्ता मारमा


0
Shares

-विवेक भण्डारी/ ईमेज 

नवलपुर । चाडपर्व नजिकिएसँगै नवलपुरका बजारमा खाद्यान्नको मूल्य मनपरी निर्धारण गरिँदा उपभोक्ता मारमा परेका छन् ।

जिल्लामा रहेका अधिकांश किराना पसलमा एउटै खाद्यान्नको मूल्य फरकफरक हुँदा उपभोक्ता ठगिनुपरेको हो ।

चाडवाडको मौकामा विभिन्न बहाना बनाई उपभोक्तालाई ठग्ने प्रवृत्ति अझै पनि हट्न सकेको छैन ।

जसलाई नवलपुरका अधिकांश किराना पसलमा चामलको मूल्य पसलैपिच्छे फरकफरक देखिनुले संकेत गर्दछ ।

कुनै पसलमा १५ सय रुपैयाँमा बिक्री भइरहेको चामलको मूल्य अर्को पसलमा १६ सय ५० त कतै १७ सय रुपैयाँसम्म तिर्नुपर्छ ।

चामलमा मात्र होइन अन्य दैनिक उपभोग्य चिनी, दाललगायतका सामानमा पनि मूल्य एकरुपता नभएको उपभोक्ताको गुनासो छ ।

धेरैजसो पसलमा मूल्य सूची नभएकाले पनि उपभोक्तालाई ठग्न सजिलो भएको छ ।

अर्कोतिर प्रभावकारी अनुगमन नहुँदा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ उपभोग गर्नुपर्ने बाध्यता छ ।

यता जिल्ला प्रशासनले भने आफूहरुले उपभोक्ताको हितका लागि अनुगमन गर्ने गरेको दाबी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की जिल्लामा रहेका पसलहरुमा मूल्यसूची नराखेको भए अनुगमनपछि कारबाही गर्ने चेतावनी दिन्छन् ।

अनुगमन कार्य कर्मकाण्डीजस्तै हुनु, चेतनशीलताको कमी तथा बिचौलियाहरुको सक्रियताका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यस्ता प्रवृत्तिलाई उपभोक्ताको खबरदारी र नियामक निकायको तदारुकताबाटै नामेट पार्न सकिन्छ ।