कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाल प्रहरीका लागि नौं वटा गाडी खरिद गरेको दुई महिना बितिसक्दा पनि वितरण गर्न सकेको छैन ।
प्रदेश प्रहरी गठन भएपछि गाडी यपलब्ध गराउन भनेर गत वर्षको बजेटबाट गाडी खरिद गरिएको भएपनि प्रहरी विधेयक नै नबनेका कारण वितरण गर्न नसकेको हो ।
प्रदेश प्रहरीलाई गाडि दिने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट संसोधन गरेर गाडी वितरण प्रकृया अगाडि बढाउने मन्त्रालयले जनाएको छ ।
पर्याप्त गाडी नहुँदा र भएको गाडी पनि थोत्रा भएका कारण प्रहरीलाई नियमित काममा समस्या भइरहेको बेला प्रदेश सरकारले किनेको गाडी भने वितरणमा ढिलाइ भएको हो ।
प्रदेश सरकारले नौ वटै जिल्लाका प्रहरी कार्यालयको लागि नौ वटा गाडी खरिद गरेको छ । नौ वटै गाडी आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा राखिएको छ ।
प्रदेश प्रहरी गठन भएपछि गाडी बाँड्ने भनेर गतवर्षको बजेटमा कार्यक्रम स्वीकृत भएको बताउँदै मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रदेश प्रहरीमा पनि हालकै प्रहरी रहने भएको र गाडी पनि खरिद भइसकेकाले मन्त्रिपरिषद्को निर्णयबाट प्रत्येक जिल्लालाई एउटा/एउटा गाडी वितरण हुने बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा प्रहरी गाडी खरिदका लागि प्रति गाडी ४२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्