२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


गन्डकी प्रदेशले पर्यटन प्रवर्द्धन अभियान गर्ने


0
Shares

पोखरा, असोज ३ । गन्डकी प्रदेश सरकारले गन्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि देशका विभिन्न सहरमा प्रवर्द्धनात्मक यात्रा गर्ने भएको छ ।

शुक्रबार पोखरामा आयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही असोज ९ देखि असोज १६ गतेसम्म भ्रमण हुन लागेको जानकारी दिएको हो ।

प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको नेतृत्वमा प्रदेश नम्बर–५ को बुटवल–भैरहवाको बीच मणिग्राम, प्रदेश नम्बर–२ को वीरगन्ज, प्रदेश नम्बर–१ को विराटनगर र प्रदेश नम्बर–३ को काठमाडौंमा सम्बन्धित प्रदेश सरकारकाबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य (जीटुबी) व्यापारीबीच अनुभव आदान–प्रदान, फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रम गरिने जनाइएको छ ।

अभियानकाक्रममा बाटोमा पर्ने प्रमुख पर्यटकीय सहर पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौंडा, धनुषाको जनकपुरधाम, सुनसरीको धरान, झापाको बिर्तामोडमा पनि बीटुबी कार्यक्रम गरिने मन्त्री लम्सालले जानकारी दिए ।

गन्डकी प्रदेशले सन् २०१९ देखि २०२२ सम्मलाई गन्डकी प्रदेश पर्यटन वर्ष घोषणा गरेको छ ।

उक्त तीन वर्षको अवधिमा अझ विस्तृतमा २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण वर्ष, २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष भनी उल्लेख गरिएको छ ।