ताप्लेजुङ, असोज ३ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन । मध्य वर्षामा मौसम खराबीले उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो ।
मौसम खुलेसँगै उडान गर्न सकिने भए पनि पछिल्लो पटक यात्रु नभएकाले उडान नभएको नेपाल वायुसेवा निगमका स्टेशन ईन्चार्ज राजु कार्कीले जानकारी दिए । सुकेटार विमानस्थलमा नेपाल वायु सेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौं उडान गर्ने नियमित कार्यतालिका छ । थोरै यात्रु हुँदा घाटा हुने भएकाले नियमित उडानमा समस्या भएको बताईएको छ ।
नेपाल वायु सेवा निगमले विभिन्न कारण देखाउँदै नियमित उडान नगरेकाले भरपर्दो हुन नसकेको स्थानीयको भनाइ छ । पटक पटक टिकट गरेर विमानस्थलबाटै फर्कनुपर्ने बाध्यता रहँदै आएको भन्दै स्थानीयले गाडी नै चढ्ने गरेका छन् ।
यात्रु पाए कार्यतालिकाअनुसार नियमित उडान गर्ने वायुसेवा निगमले जनाएको छ । यो वर्ष असार ४ यता उडान हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्