२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चाडपर्वको मुखमा बजारमा मनपरी मूल्य


0
Shares

विवेक भण्डारी

नवलपुर, असोज ३ । चाडपर्व नजिकिएसँगै नवलपुरका बजारमा खाद्यान्नको मूल्य मनपरी निर्धारण गरिँदा उपभोक्ता मारमा परेका छन् । जिल्लामा रहेका अधिकांश किराना पसलमा एउटै खाद्यान्नको मूल्य फरकफरक हुँदा उपभोक्ता ठगिनुपरेको हो ।

चाडवाडको मौकामा विभिन्न बहाना बनाई उपभोक्तालाई ठग्ने प्रवृत्ति अझै पनि हट्न सकेको छैन । कुनै पसलमा १५ सय रुपैयाँमा बिक्री भइरहेको चामल अर्को पसलमा १६ सय ५० त कतै १७ सय रुपैयाँसम्म तिर्नुपर्छ । 

चामलमा मात्र होइन, अन्य दैनिक उपभोग्य चिनी, दाललगायतका सामानमा पनि मूल्य एकरुपता नभएको उपभोक्ताको गुनासो छ । 

धेरैजसो पसलमा मूल्यसूची नभएकाले पनि उपभोक्तालाई ठग्न सजिलो भएको छ । अर्कोतिर प्रभावकारी अनुगमन नहुँदा म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ उपभोग गर्नुपर्ने बाध्यता छ ।

यता, जिल्ला प्रशासनले भने आफूहरुले उपभोक्ताको हितका लागि अनुगमन गर्ने गरेको दाबी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की जिल्लामा रहेका पसलहरुमा मूल्यसूची नराखेको भए अनुगमनपछि कारबाही गर्ने चेतावनी दिन्छन् ।

अनुगमन कार्य कर्मकाण्डीजस्तै हुनु, चेतनशीलताको कमी तथा बिचौलियाहरुको सक्रियताका कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । यस्ता प्रवृत्तिलाई उपभोक्ताको खबरदारी र नियामक निकायको तदारुकताबाटै नामेट पार्न सकिन्छ । 

भिडियो हेर्नुहोस्