१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


आगामी दुई वर्ष ओली नेतृत्वको सरकारले काम गर्छ : झलनाथ खनाल


0
Shares

काठमाडौं, फागुन २६ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने बताउनुभयो ।

नेता खनालले पुर्नस्थापित संसदबाट नयाँ खेलको शुरुवात हुने पनि बताउनुभयो ।

एमाले वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने उहाँको भनाइ छ ।

यस्तै एमालेका अर्का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा छलफल गर्ने बताउनुभयो ।

छलफल, बहस, विवादबाट कहिल्यै पनि डराउँदैनौ भन्दै छलफल, बहस, विवाद राजनीतिज्ञको विशेषता पनि हो भन्नुभयो ।

यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने जिकिर गर्नुभयो ।

उहाँले जनता समाजवादी पार्टी सँग सत्ता सहकार्यका निम्ति निरन्तर कुराकानी गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो ।

वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्येय भएको उहाँको भनाई छ ।

जसपाका नेता लक्ष्मणलाल कर्णले एमालेसँग सत्ता समिकरणबारे छलफल गर्न कार्यदल नबनेको उहाँको जिकिर छ ।

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले नेपाली कांग्रेस हतारमा सरकारमा जानुभन्दा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।