Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


अमेरिकाले ६ सेप्टेम्बरसम्म बेरोजगार भत्ता दिने


0
Shares

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेक पारित भएको हो ।

सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि राहत योजना पारित भएको हो । बाइडनकै पार्टी डेमोक्र्याटको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले मंगलबार विधेयक पारित गर्ने अनुमान गरिएको छ ।

बाइडन प्रशासनको नयाँ योजना अनुसार सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता दिइने छ । सो भत्ता हप्ताको ४ सय डलरबाट घटाएर ३ सय डलर बनाइएको छ । राष्ट्रपति जो बाइडनले चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी जनतालाई सहयोग गर्ने मार्गमा सिनेटले विधेयक पारित गर्नु ठूलो फड्को रहेको बताए।

विश्वमै सबैभन्दा बढी कोेरोना प्रभावित अमेरिकामा पाँच लाख २३ हजार बढीको मृत्यु र दुई करोड ९० लाख बढी संक्रमित छन् । महामारीका कारण अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित हुंदा बेरोजगारी दर ६ दशमलब २ प्रतिशत पुगेको छ ।