१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चन्द समूहका तीन कार्यकर्ता हतियारसहित समातिए


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, भदौ ३१ । झापा प्रहरीले बिर्तामोडबाट नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीनजना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सो समूहका झापा जिल्ला सेक्रेटरी प्रवीण मिश्र, झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर–५ का ‘जनसरकार’ प्रमुुख टिका पोखरेल र मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–२ बस्ने पार्टी युवा संगठन सदस्य अनुल सारु मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुको साथबाट कटुवा पेस्तोल दुईथान, चार राउन्ड गोली, मोबाइल पाँचथान, पार्टीका दस्तावेज, पार्टी सदस्यतापत्र र चन्दा रसिद प्याडहरु बरामद गरेको  जानकारी दिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

केही समयअघि बिर्तामोड नगरपालिका–२, चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडको भवन, बिर्तामोड नगरपालिका वडा नम्बर–७, ८ र ९ को संयुक्त कार्यालयको भवन र गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडीमा बम विस्फोट गराएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।