Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक


0
Shares

काठमाडौं, फागुन २० । केन्द्रिय तथ्यांक विभागले कोभिडका कारण आर्थिक वृद्धिद्धर ऋणात्मक भएको जनाएको छ ।

विभागले नेपालको अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिन बिहीबार विभागमा गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्षको आर्थिक वृद्धिद्धर १.९९ प्रतिशतसम्म ऋणात्मक रहेको जनाएको हो ।

विभागले आधार वर्ष परिवर्तन गर्दै कोभिडका कारण चालु आर्थिक वर्षको प्रथम त्रैमासमा समेत आर्थिक वृद्धिद्धर माईनस ४.०६ प्रतिशत रहेको जनाएको छ ।

यस्तै विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक पनि सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।

तथ्यांक सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्यासमा ४६.८ प्रतिशत वृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले तथ्याकं प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने भन्दै जिडिपीको आकार बढेकोले आत्तिने अवस्था नरहेको बताउनुभयो ।

विभागले यसअघिको आधार वर्ष २०५७÷५८ (सन् २०००÷२००१) लाई परिवर्तन गरेर २०६७÷६८ (सन् २०१०÷११) बनाएको हो ।

जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ भने कृषि, उत्पादन तथा प्रशोधन क्षेत्रको भार क्रमशः ९.५ र ३ दशमलव २ प्रतिशतले घटेको छ ।

यस्तै प्रतिब्यक्ति आय पनि गत वर्षको भन्दा २५ अमेरिकि डलरले घटेको छ ।

प्रतिब्यक्ति आय गत वर्ष १ हजार १ सय उनान्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय ३४ डलरमा झरेको पनि तथ्यांकले देखाएको छ ।

विभागले गत बैशाखमा २.२७ प्रतिशत आर्थिक वृद्धिद्धर हाँसिल हुने र जेठबाट आर्थिक क्रियाकलापमा सुधार आउने अपेक्षा गरेको थियो ।