१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


राष्ट्र बैंकद्वारा चेक बिनै रकम भुक्तानी गर्न मिल्ने प्रणाली लागु


0
Shares

काठमाडौं, भदौ २९ । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) कार्यान्वयनमा ल्याएको छ ।

केन्द्रीय बैंकमा आज आयोजित कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपाल र लर्ड मेयर अफ लण्डन पिटर एष्ट्लिनले आरटीजीएसको उद्घाटन गरे ।

कार्यक्रममा गभर्नर डा.नेपालले नयाँ भुक्तानी र सेटलमेन्टमा नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । यो प्रणाली कार्यान्वयनमा आएसँगै क्लियरिङ र भुक्तानी दुवै रियल टाइम हुनेछ । प्रणाली विश्वसनीय रहेकाले विश्वस्तरीय सेवा दिने उनको भनाइ छ ।

गभर्नर नेपालले बैंकिङ्ग प्रणाली सुरक्षित रहेको पनि बताए ।

अब सर्वसाधारणले कुनै एक बैंकबाट अर्को बैंकको जुनसुकै खातामा बिना चेक तत्कालै रकम भुक्तानी गर्न सक्नेछन् । वाणिज्य बैंकबाट रकम पठाउने व्यक्तिले वाणिज्य बैंकको कुनै पनि शाखामा एउटा निवेदन दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुने राष्ट्र बैंकले जनाएको छ ।

यो प्रणाली स्वचालित किसिमको भएकाले जनशक्ति पनि कम लाग्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले युके एड सक्षमसँगको सहकार्यमा १८ महिनामा यो प्रणाली तयार गरेको थियो । यो प्रणाली सबै वाणिज्य बैंकहरुमा कार्यान्वयनमा आएको छ ।