
धनकुटा । प्रदेश– १ को चर्चित पर्यटकीय क्षेत्रमध्येको भेडेटार पूर्वको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ ।
पर्यटकको आवागमन बढेपछि यस स्थानमा युवाहरुले होटल व्यवसायमा लगानी गर्न थालेका छन् ।
सुनसरीको धरानबजार भन्दा १७ किलोमिटर माथि रहेको भेडेटारमा बेलायतका तत्कालीन युवराज चाल्र्स आएर सैलुङ डाँडाको तारिम गरेपछि यहाँ पर्यटकहरुको आगमन सुरु भएको हो ।
पूर्वी नेपालकै प्रसिद्ध क्षेत्रमध्येको भेडेटारमा पर्यटकहरुको आवागमन बढ्न थालेसँगै होटल व्यवसायमा लगानी गर्नेहरु पनि बढ्दै गएका छन् ।
धनकुटाका किरण राई वर्षौँ पहिलेबाट गर्दै आएको सुनचाँदी व्यवसायलाई छाडेर अहिले यस क्षेत्रमा रिसोर्ट सञ्चालन गरिरहेका छन् ।
गत वर्षदेखि ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको रिसोर्टबाट लगानी सुरक्षित हुुनुका साथै प्रतिफल पनि बढी हुनेमा उनी विश्वस्त छन् ।
राईजस्तै अन्य युवा पर्यटन व्यवसायी पनि यस क्षेत्रमा लगानी गर्न हौसिएका छन् ।
२०५० सालबाट व्यवस्थित रुपमा होटल व्यवसाय सञ्चालनमा आएको भेडेटारमा अहिले साना ठूला गरी झण्डै १ सय ५० होटल सञ्चालनमा छन् ।
२६ वर्षको अन्तरालमा जग्गाबाहेक अन्य संरचना निर्माणमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्रिएको तथ्यांकमा उल्लेख छ ।
जहाँ दैनिक १ हजारको संख्यामा आन्तरिक र बाह्य पर्यटकहरु अवलोकन गर्न आउँछन् ।
पर्यटकको आकर्षण देखिेर होटल व्यवसायमा उत्साहपूर्ण लगानी भइरहेको होटल एसोसियसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीको भनाइ छ ।
छिनमै कुहिरो लाग्ने र उघ्रिने, बाहै्र महिना चिसो मौसम विभिन्न हिमशृंखलासहित तराईका फाँट देख्न पाइने भएकाले यो ठाउँ पर्यटकको आकर्षणमा परेको युवा व्यवसायी लिलाराज लावती बताउँछन् ।
समुद्री सतहभन्दा १४ सय २६ मिटरको उचाइमा पहाडको टुम्पोमा अवस्थित भेडेटारमा ७० प्रतिशतभन्दा बढी भारतीय पर्यटक र बाँकी आन्तरिक पर्यटक आउने गरेका छन् ।
पर्यटकलाइ थप आकर्षित गराउन नमस्ते झरनामा क्यानोनिङसहित जिपलाइन, स्काइ वे सञ्चालनको तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्