इलाम । इलामको श्रीअन्तु डाँडामा पर्यटकको भीड बढेको छ । इलामसँगै नेपालका अन्य जिल्ला, भारतको दार्जेलिङ र बङ्गालादेशबाट सूर्योदयको दृश्यावलोकनका लागि पर्यटक बढेका हुन् ।
अन्तु डाँडाबाट सूर्योदयको दृश्य सँगसँगै लोपोन्मुख लाप्चा जातिको संस्कृति, अन्तु पोखरी, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको आनन्द लिन पनि धेरै पर्यटक आउने गरेका छन् ।
पर्यटकका लागि खान र बस्नको निम्ति घर–घरमा होमस्टेको व्यवस्था गरिएको छ । क्षणिक मौसम परिवर्तन हुने इलाममा गर्मी महिनामा पनि हुस्सु र कुहिरो लाग्ने गर्दछ ।
थुम्का–थुम्कामा चिया लहलह भएका बेला पर्यटकहरू चियाबारी घुम्ने र चियाका बोटमा सुतेरं सेल्फीसमेत खिच्ने गर्दछन् । अन्तुबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका बजार नजिकै जस्तको देखिन्छ ।
समुन्द्र सतहदेखि ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको श्रीअन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।
पक्की सडक र अन्तुपोखरीमा डुंगा निरन्तर चल्ने हुँदा १२ महिना नै पर्यटक आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्