Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विमानस्थलको सेवा सुधारका लागि मन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, भदौ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने आगमन यात्रीहरुलाई आगमन भन्सार क्षेत्रमा ‘मेटल फ्री’को नाममा अनावश्यक सास्ती व्यहोर्नुपरेको भन्दै यसमा सुधार गर्न पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थल कार्यालयलाई निर्देशन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले हालै घोषणा गरेको १४१ बुँदे कार्ययोजनामध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित सरोकारवाला निकायहरुबाट सम्पादन गर्नुपर्ने कामको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्दै सुधारका लागि विभिन्न निर्देशन दिएको जनाइएको हो ।

विमानस्थलमा सन्चालन भइरहेका ट्याक्सीहरुको गुणस्तर, मापदन्ड, भाडादर आदि विषयमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न पनि उनले विमानस्थलस्थित सवारी–साधन एवं पार्किङ अनुगमन कमिटीलाई निर्देशन दिएको कार्यालयले जनाएको छ ।

विमानस्थल प्रयोग गर्ने ‘फर्स्ट क्लास’ र ‘बिजनेस क्लास’का यात्रीहरुलाई ‘प्राइरोटी चेकइन’, ‘इमिग्रेसन बोर्डिङ’ र ‘ब्यागेज क्लिरेन्स’को व्यवस्था मिलाउन, छुट्टै ‘पिकअप एन्ड ड्रप’को व्यवस्था गर्न, वृद्ध, अशक्त तथा अपांग यात्रीहरुलाई प्राथमिकतामा राख्न र साझा यातायात एवं पर्यटक यातायात संस्थासँग छलफल एवं सहकार्यमा विमानस्थलवाट सहरका विभिन्न पर्यटकीय क्षेत्रमा सरल बस सन्चालन गर्ने व्यवस्था मिलाउनलगायतका व्यवस्थाका लागि पनि मन्त्री भट्टराईले निर्देशन दिएको जनाइएको छ ।

Skip This