
काठमाडौं, भदौ २७ । सरकारले दसैं, तिहार र छठलाई लक्षित गरी यस वर्ष पनि काठमाडौं उपत्यका र उपत्यकाबाहिर विभिन्न स्थानहरुमा सुपथ मूल्य पसलहरु सन्चालनमा ल्याएको छ ।
यही भदौ २३ गतेबाट सुरु भएका यी पसलहरु आउँदो कात्तिक १७ गतेसम्म सन्चालन हुने जनाइएको छ ।
तर, यी पसलहरुमा ग्राहकहरुको खासै आकर्षण भने देखिएको छैन ।
यी पसलहरुमा उपभोक्ताहरु सामान किन्न न्यून संख्यामामात्रै पुग्ने गरेको पाइएको छ ।
सरकारले उपत्यकाका सात ठाउँ र उपत्यकाबाहिरका ३५ स्थानमा यस्ता पसल सन्चालनमा ल्याएको छ ।
तर, उपत्यकाकै उपभोक्ताहरु सुपथ मूल्य पसलहरुमा सामान किन्न न्यून संख्यामा पुग्ने गरेका छन् ।
उपत्यकाका विभिन्न सात स्थानहरुमा साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड, दुग्ध विकास संस्थान र खाद्य व्यापार कम्पनी मिलेर एकीकृतरुपमा सुपथ मूल्यका पसलहरु राखिएका हुन् ।
यहाँ दैनिक ३०० देखि ४०० सम्म उपभोक्ताहरु आउने संस्थानहरुको दाबी छ । तर, यी पसलहरुमा पुग्दा भने सुनसान देखिएको हो ।
यी पसल पायक नपर्दा पसलमा आउन गाह्रो परेको उपभोक्ताहरु बताउँछन् ।
केहीमात्रै रकम छुटका लागि टाढाबाट आउँदा सवारी भाडाका कारण मूल्य उस्तै नै हुन जाने उनीहरुको भनाइ छ ।
सरकारले यी पसलमार्फत् नुन, चिनी, चामल, दाल, तेल, घ्यूजस्ता अत्यावश्यक सामग्रीहरु केही सस्तोमा उपलब्ध गराएको हो ।
सरकारीस्तरबाटै खोलिएका यी पसलहरुमा जनताको सहजै पहुँच पुर्याउन अझै धेरै र पायक स्थानमा विस्तार गर्नु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्