
मीरा बस्नेत, दिलिप पोखरेल र भरत केसी (इमेज)
काठमाडौं, भदौ २७ । नेपाली इतिहासका चर्चित घटनाक्रम त धेरैले पढेकै होलान् । तर, ती घटना चित्रमा भने देख्न मुस्किल थियो ।
ऐतिहासिक कालखन्डका घटनामा २७ ओटा चित्र कोरेर चित्रकार हरिप्रसाद शर्माले धेरैको कौतुहल मेटिदिएका छन् ।
उमेरले ८२ वर्ष पुगिसके, ऐतिहासिक कालखन्डका चित्र कोर्ने एकमात्र चित्रकार हरिप्रसाद शर्मा ।
यो उमेरमा पनि शर्माले निकै जोश–जाँगरका साथ नेपालका प्राचीन र मध्यकालीन इतिहासका घटना चित्रमा उतारिरहेका छन् ।
सबैले पढे–सुनेका इतिहासका चर्चित घटनालाई चित्रमा उतारेर उनले जीवन्तता दिएका छन् ।
अहिले नेपाल कला परिषद्मा शर्माले कोरेका राजनीतिक, ऐतिहासिक र प्राचीन नेपालको जीवनशैली झल्काउने चित्रहरु प्रदर्शनीमा राखिएको छ ।
राजा पृथ्वीनारायण शाहले कान्तिपुरनगरीमाथि आक्रमण गरी विनारक्तपात विजय हासिल गरेको दिन र परिवेश कस्तो थियो होला ?
कोतपर्वको रात अनि पृथ्वीनारायण शाहले आफ्ना भाइ–भारदारहरुलाई दिव्योपदेश सुनाउँदाको परिवेश । इतिहासका यी चर्चित घटना सबैले पढेका छन् । तर, त्यसबेलाको वास्तविक अवस्थाको चित्रण दृश्यरूपमा भने कसैले पनि देख्न पाएका छैनन् ।
शब्दमामात्र पढिएका यी घटनलाई चित्रकार शर्माले २७ ओटा ‘पेन्टिङ’मार्फत् उजागर गरेका छन् ।
एक चित्रमा राजा पृथ्वीनारायण शाहले नुवाकोट दरबारको निजी कक्षमा अन्तिम समय गुजार्दैछन् । आफूलाई हेरविचार गर्ने सुरतसिं राना, छोरा बहादुर शाह, भाइ दलजित शाह र अन्य गुरुपुरोहितहरूलाई दिव्योपदेश सुनाइरहेका छन् । वरपर अरू भाइभारदार, वैद्य र सुसारे पनि छन् । चित्रले त्यसबेलाको राजर्षी रहनसहनलाई सुन्दर ढंगबाट चित्रण गरेको छ ।
लिच्छविकालीन समयमा निर्माण गरिएको ७ तले कैलाशकुट भवन कहाँ र कस्तो थियो ? आजसम्म पनि एकिन छैन । यसलाई शर्माले निकै आकर्षक ढंगले चित्रमा उतारेका छन् ।
यहाँ राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग पासा खेल्दैछन् । प्रताप मल्ल रानी रुपमतीसँगै विणावादनका साथ मदिरापानको आनन्द लिइरहेका छन् ।
यस्तै, राजा मानदेव चाँगुनारायण मन्दिरमा गरुडकारुपमा आफ्नै प्रतिमूर्ति तथा मल्लपुरी विजयसम्बन्धी शिलालेख स्थापना गराउँदैछन् ।
प्रताप मल्ल पनि काठमाडौंको स्वयम्भूमा प्रतापपुर र अन्नतपुर शिखर शैलीको स्थापना गरेपछि प्राकृतिक प्रकोप नपरोस् भनी पित्तलको बज्र चढाउँदैछन् ।
सम्राट अशोकद्वारा बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको तीर्थयात्रालाई पनि चित्रमा देखाइएको छ ।
चित्रकार शर्मा ऐतिहासिक चित्र कोर्दा इतिहासविद्हरुसँग सल्लाह लिने र अध्ययन–अनुसन्धान गर्ने गरेको बताउँछन् ।
प्रदर्शनीमा काठमाडौंको त्यसबेलाको ‘ल्यान्डस्केप’ र स्थानीयवासीको जीवनशैलीमा आधारित चित्रहरु पनि छन् ।
रानीपोखरी, गुह्येश्वरी मन्दिर अनि वाग्मती नदीको दृश्य हेर्दा कुनै समय यी ठाउँ यस्तो अवस्थामा थिए होलान् र ? भन्ने लाग्छ ।
काठमाडौंमा जन्मे–हुर्केका शर्मालाई नेवार समुदायको कला, संस्कृतिले आफूलाई लोभ्याएको बताउँछन् ।
शर्मालाई नेवारबाहेक अन्य जातजाति, धर्म र समुदायकाबारेमा चित्र कोर्न नसकेकोमा दुःख पनि छ । तर, हार भने मानेका छैनन् ।
अहिले पनि उनी अरु समुदायकोबारे अध्ययन–अनुसन्धान गर्न विभिन्न ठाउँहरुमा गइरहेका छन् ।
आफू बाँचुन्जेल हराउन लागेका नेपालको इतिहासलाई प्रतिविम्बित गर्ने थुप्रै चित्रहरु कोर्ने रहर छ, उनमा ।
सात वर्षको उमेरदेखि नै चित्र कोरेका यी चित्रकारले विगत २५ वर्षदेखि भने ऐतिहासिक कालखन्डका चित्रहरु कोरेर इतिहासलाई जीवन्त राख्ने काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्