
मोरङ, भदौ २६ । बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रंगेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।
खड्का बसचालक र न्यौपाने बसका सहचालक हुन् ।
बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना६ख ९३४४ नम्बरको बस चढेकी किशोरी झापा, दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रंगेली नगरपालिका–९ मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।
बलात्कार प्रयास गर्दैगर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीले मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
महिलाको हत्या गरेको आरोपमा पक्राउ
३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा, गौरादह नगरपालिका–६, दामुनाका ४५ वर्षीय पुण्य चुँडाललाई भदौ २५ गते पक्राउ गरेको छ ।
गत भदौ २१ गते आफूसँगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमिकालाई कुटपिटपछि छोडेर हिँडेको र उनको उपचारकाक्रममा भदौ २२ गते कोसी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।
कुटपिटपछि रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको गाईगोठमा महिलालाई छोडेर चुँडाल भागेका थिए ।
शरीरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोसी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विगत एक महिनायता रतुवामाई नगरपालिका–६ मा बस्दै आएको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले बताए ।
चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत् थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवको परीक्षण कोसी अञ्चल अस्पतालमै गरिएपनि जिम्मा लिने कोही नभएका कारण शवगृहमा राखिएको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्