२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सबै पर्यटन गतिविधि सञ्चालन गर्न दिन व्यवसायी माग


13
Shares

काठमाडौं, फागुन १० । पर्यटन व्यवसायीहरुले सबै किसीमका पर्यटन गतिविधिलाई निर्बाध रुपमा सूचालु गर्न दिन सरकारसँग माग गरेका छन् ।

पर्यटन व्यवसायीहरुका सबै छाता संगठनहरुले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी सुरक्षा मापदण्डका आधारमा सेवा दिनेगरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिन माग गरेका हुन् ।

देशमा सभा, विरोध, जुलुस लगायतका कार्यक्रमहरु दैनिक रुपमा भइरहदा कोरोना संक्रमणको जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने कुरालाई नमान्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले देशमा दिनहुँ विरोध प्रदर्शन हुँदा कोभिडको जोखिम हुँदैन भने विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिदा पनि कोभिड संक्रमणको जोखिम नहुने बताउनुभयो ।

पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोभिड खोप लगाएर नेपाल आउने विदेशी पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने बताउनुभयो ।

यस्तै पिसिआर नेगेटिभ आएका पर्यटकलाई पाँच दिनको क्वारेन्टाइन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेर आउनुपर्ने लागायतका मापदण्डलाई खारेज गर्न माग गर्नुभयो ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरुले पटकपटक आफ्ना मागहरु सरकारसँग राख्दा समेत सरकारले सुनुवाई नगरेको बताउनुभयो ।

७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकहरुलाई अनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिषा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगहरुबाट भिषाको व्यवस्था पूर्ववत रुपमा सूचारु हुनुपर्ने, विमानस्थलमा कोभिड जाँच मेसिन राखेर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने, कोभिड विरुद्धको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरुलाई पनि उपलब्ध गराउनुपर्ने लगायतका माग व्यवसायीहरुले राखेका छन् ।

कोभिडबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रका व्यवसायीहरुले अहिले सम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको गुनासो समेत गरेका छन् ।

सरकारले राहतको रुपमा कोष निर्माण गरेपनि पहुँच हुनेहरुले मात्रै सुविधा पाएको तर साना पर्यटन व्यवसायीहरुले अहिलेसम्म कुनै सुविधा पाउन नसकेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।