चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो • Image Khabar Image Khabar


चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो


प्रकाश मैनाली
१० फाल्गुन २०७७, सोमबार १५:११

चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो

प्रकाश मैनाली
सर्लाही । किसानले लगाएको उखु सकिन थालेपछि जिल्लाका चिनी उद्योग भारतबाट उखु मगाउन थालेका छन् । महालक्ष्मी चिनी उद्योगमा किसानले उखु ल्याउन छाडेपछि भारतबाट उखु ल्याउनुपरेको हो ।

नेपाली किसानको उखुको बक्यौता रकम नदिएका उद्योगीले भारतबाट पैसा तिरेर ल्याएपछि किसानहरूले गुनासो गरेका छन् । ‘हाम्रो उखुको पैसा नदिने अनि भारतबाट चाहिँ पैसा तिरेर ल्याउने ?’, एक किसानले आक्रोशित हुँदै भन्नुभयो ।

पुस ५ गतेदेखि उखु क्रसिङ सुरु गरेको महालक्ष्मी चिनी उद्योगले सुरुको एक साताको मात्रै भुक्तानी गरेको किसानको भनाइ छ । दैनिक २५ हजार क्विन्टल क्रसिङ गर्ने क्षमता रहेको उद्योगले अहिले दैनिक १५–१६ हजार क्विन्टल मात्रै क्रसिङ गरिरहेको प्रशासकीय प्रवन्धक वीरेन्द्रकुमार श्रीवास्तवले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग भने अहिलेसम्म स्थानीय उखुबाटै चलिरहेको छ । तर, उद्योग पूर्ण क्षमतामा चल्ने गरी पर्याप्त उखु आउन छाडेको उद्योगका प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो । दैनिक ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भए पनि २३–२४ हजार क्विन्टल उखु मात्र क्रसिङ गरिरहेको उहाँको भनाइ छ ।

पुस ६ गतेदेखि सञ्चालनमा आएको इन्दुशङ्कर चिनी उद्योगले अहिलेसम्म ११ लाख ६६ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । नियमित भुक्तानी गरिरहेकाले इन्दुशङ्करसँग उखु किसान सन्तुष्ट छन् । उद्योगले तेस्रो किस्तासम्मको ५९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

इन्दुशङ्कर चिनी उद्योगबाट १५–१५ दिनमा भुक्तानी भइरहेको भए पनि महालक्ष्मी लगायत अन्य केही उद्योगले भने विभिन्न बहानाबाजी गरेर समयमै भुक्तानी नगरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

मुलुकमै सबै भन्दा बढी उखु खेती हुने सर्लाहीमा रहेका तीनवटा चिनी उद्योगमध्ये धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग गत वर्षदेखि सञ्चालनमा आएको छैन । उद्योगका मालिक राकेश अग्रवाललाई प्रहरीले हिरासतमा लिएपछि उद्योगले एक हप्ता अघिमात्रै अघिल्ला वर्षहरूको भुक्तानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्