
काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारले ग्यासमा पनि स्वचालित मूल्य प्रणालीको तयारी गरिरहेको बताएका छन् ।
बुधबार राजधानीमा नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारणसभा कार्यक्रममा मन्त्री यादवले सरकारले सबैलाई समान व्यवस्था गर्नका लागि स्वचालित मूल्य प्रणालीको व्यवस्था गर्न लागेको दाबी गरे ।
सरकारले निम्न वर्गका उपभोक्तालाई सहुलियत दिने तयारी गरेको मन्त्री यादवको भनाइ छ ।
सरकारले उच्च आयस्रोत भएका ग्राहकहरुलाई सोहीअनुसार मूल्य लगाउने र निम्न आयस्तर भएका ग्राहकहरुलाई सहुलियत मूल्यमा ग्यास उपलब्ध गराउने तयारी गरिरहेको मन्त्री यादवले बताए ।
निजी क्षेत्रले निर्यात बढाउनका लागि उत्पादनमा जोड दिनुपर्ने उनले उल्लेख गरे ।
सरकारले व्यापारमा हस्तक्षेप गर्नेभन्दा पनि व्यवस्थापनलाई ध्यान दिएको उनको दाबी छ ।
सरकारले व्यवसायीसँग मिलेर ग्यास आपूर्ति सहज बनाइरहेको जिकिर पनि मन्त्री यादवले गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्य किशोर प्रधानले सरकारका पछिल्ला ऐन, नियम र क्रियाकलापले विदेशी लगानी त के स्वदेशी लगानीकर्ता नै बाहिरिनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष प्रेमलाल महर्जनले डिलर प्रमाणीकरण, ग्यास उद्योगको ‘मर्ज’लगायतका सुझाव दिए ।
मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापनलाई बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष्य राजेन्द्र मल्लले सरकारको पछिल्लो व्यवहारले व्यवसायीहरु त्रसित बन्दै गएको दुखेसो पोखे ।
प्रतिक्रिया दिनुहोस्